हामीले समाजलाई बुझाउनुपर्नेछ कि हाम्रो भूमिका केवल ‘डेकोरेटिभ’ (सजावटी) मात्र होइन : डीन वैद्य
काठमाडौं । नेपालका लागि फिलिपिन्सका अवैतनिक वाणिज्यदूत एवं वरिष्ठ उद्योगी सुरज वैद्य ‘अनररी कन्सुलर कर्प्स नेपाल’ एचसीसीएन को नयाँ डीनमा निर्वाचित भएसँगै एक वर्षे कार्यकालका लागि महत्त्वाकांक्षी र परिणाममुखी ‘रोडम्याप’ सार्वजनिक गरेका छन् । संस्थाको १९औं वार्षिक साधारण सभा तथा चार्टर डे (स्थापना दिवस) को अवसरमा आयोजित एक विशेष समारोहका बीच नेतृत्व हस्तान्तरण गरिएको हो । निवर्तमान डीन एवम् बुल्गेरियाका मानार्थ वाणिज्यदूत भोला विक्रम थापाले वैद्यलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरे । नेतृत्व हस्तान्तरणपछि थापाले अब ‘इमिडिएट पास्ट डीन’ (निवर्तमान डीन) को रूपमा संस्थालाई सहयोग जारी राख्नेछन् । एचसीसीएनले आयोजना गरेको सो कार्यक्रममा सम्बोधन गर्दै वैद्यले आफूलाई प्राप्त सुझावहरूको स्मरण गर्दै भने, ‘मलाई धेरैले एक वर्षको मात्र समय छ, धेरै गर्ने प्रयास नगर, सावधानीपूर्वक काम गर भनेका थिए । तर नेपाल धेरै छिटो अघि बढिरहेको छ र यहाँ गर्नुपर्ने कामहरू धेरै छन् । त्यसैले म यो जिम्मेवारीलाई अत्यन्त गम्भीरताका साथ लिन्छु ।’ उनले अघिल्ला नेतृत्वका राम्रा कामहरूलाई निरन्तरता दिँदै नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । सार्वजनिक छविप्रति कडा टिप्पणी गर्दै वैद्यले अवैतनिक वाणिज्यदूतहरूको भूमिका गाडीमा ‘निलो प्लेट’ झुन्ड्याउने वा सुविधा लिनेमा मात्र सीमित हुन नहुने बताए । उनले भने, ‘हामी कस्तो देखिन्छौँ भन्दा पनि हामी के हौं भन्ने कुरा महत्त्वपूर्ण हो । हामी कुनै क्लब होइनौं । हामी ६४ देशका प्रतिनिधि हौं र हाम्रो प्रत्येक कार्यप्रति हामी जिम्मेवार छौं । हामीले समाजलाई बुझाउनुपर्नेछ कि हाम्रो भूमिका केवल ‘डेकोरेटिभ’ (सजावटी) मात्र होइन, यो निकै गम्भीर छ ।’ उनले कर्मचारीहरूको तालिम र आन्तरिक सुदृढीकरणमार्फत सेवाको गुणस्तर बढाउने योजना पनि सुनाए ।
वैद्यले एचसीसीएनको सामर्थ्यलाई विश्व अर्थतन्त्रसँग जोड्दै भने, ‘यस हलमा उपस्थित ६४ भन्दा बढी कन्सुलरहरूले विश्वको कुल गार्हस्थ्य उत्पादनको करिब १०० ट्रिलियन डलर र विश्वको २० प्रतिशत जनसङ्ख्याको प्रतिनिधित्व गर्छन् । यो सानो शक्ति होइन ।’ उनले नेपाल सरकारलाई यो नेटवर्कको अधिकतम उपयोग गर्न आग्रह गर्दै आर्थिक कूटनीतिमा निजी क्षेत्रको साझेदारी अपरिहार्य रहेको उल्लेख गरे । वैद्यले दक्षिण एसियाका अन्य देशहरू (बंगलादेश, श्रीलंका) संकटमा रहँदा पनि नेपालले न्यून वैदेशिक लगानी प्राप्त गरेकोमा गम्भीर प्रश्न उठाए । ‘हामीले लगानीको कामना मात्र गरेर हुँदैन, त्यसका लागि काम गर्नुपर्छ । नेपाल सुरक्षित छ भन्ने विश्वास दिलाउन हामी कन्सुलरहरूले विश्वभरि ‘ब्रिज’को काम गर्न सक्छौं,’ उनले भने । उनले परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति सेलसँग मिलेर काम गर्न हात फैलाए । वैद्यले आफ्नो कार्यकालका लागि स्पष्ट ‘क्यालेन्डर’ नै घोषणा गरेका छन् । जसअनुसार नोभेम्बर अन्त्यमा नेपालबाट उच्चस्तरीय प्रतिनिधिमण्डल फिलिपिन्स जानेछ । त्यहाँको संसदका सभामुख, व्यापार मन्त्री र परराष्ट्र मन्त्रीसँग भेटघाट तय भइसकेको छ । सोही अवसरमा नेपाल र फिलिपिन्सका युवा उद्यमीहरूबीच सम्झौता हुने र ‘नेपाल,फिलिपिन्स ट्राभल ट्रेड एसोसिएसन’ स्थापना गरिनेछ । यसैगरी नेपालमा ३० भन्दा बढी युरोपेली देशका कन्सुलरहरू रहेकाले यसै वर्ष युरोपमा पर्यटन र लगानी प्रवर्द्धनका लागि रोड(शो आयोजना गरिनेछ । अप्रिल २५मा दिल्लीस्थित विभिन्न देशका राजदूतहरूलाई नेपाल बोलाएर लगानी र सहकार्यका विषयमा वृहत छलफल गराउने उनको योजना छ । नेपालका विश्वविद्यालयहरूलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरूसँग जोड्न र स्वास्थ्य क्षेत्रमा सहकार्य बढाउन पहल गर्ने उनले बताए । भारतको आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूको उदाहरण दिँदै वैद्यले भने, ‘उहाँले आफूलाई मुख्यमन्त्री होइन, राज्यको सीईओ भन्नुहुन्थ्यो । नेपालमा पनि सरकार र निजी क्षेत्रले एउटै टीम भएर काम नगरेसम्म मुलुक समृद्ध बन्दैन ।’ वैद्यले परराष्ट्र मन्त्रालय, लगानी बोर्ड, पर्यटन बोर्ड र निजी क्षेत्रका संस्थाहरूसँग मिलेर काम गर्ने संकल्प गरे । टोयोटाको नारा ‘असम्भवबाट सुरू गरौं’ लाई उद्धृत गर्दै वैद्यले भने, ‘जबसम्म हामी असम्भव देखिने काम सुरु गर्दैनौं, तबसम्म त्यो सम्भव हुँदैन । त्यसैले हामीले असम्भवलाई सम्भव बनाउन काम सुरु गर्नुपर्छ ।’ वैद्यले आफ्नो लागि पद वा कुर्सी महत्त्वपूर्ण नभएर परिणाम महत्त्वपूर्ण हुन बताए । ‘अर्को वर्ष यही ठाउँमा उभिँदा हामीले गर्वका साथ भन्न सकौँ कि हामीले केही ठोस काम गरेर देखाएका छौं । हामी जे गर्छौं, हृदयदेखि गर्छौं ।
















