नागरिक सरोकारका मुद्दा उठाउन सभापति गगन थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’को अवधारणा र अभियानसँग जोडिएर नागरिक सरोकारका मुद्दा उठाउन आग्रह गरेका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकमा सभापति थापाले हरेक उपसमितिले ‘एनसी फर एनसी’को अवधारणा र अभियानसँग जोडिएर नागरिक सरोकारका मुद्दा उठाउन आग्रह गरेका हुन् । कांग्रेसले नागरिक जीवनसँग जोडिएका विषयलाई पार्टीको नीतिगत मुद्दा बनाउने सभापति थापाको भनाइ छ ।
बैठकले प्रतिष्ठानका भिन्नभिन्न उपसमितिलाई सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टी सभापति थापाले सहजीकरणको जिम्मेवारी पाएकालाई पार्टीको मुख्य दायित्व ठानेर काम गर्न निर्देशन दिएको दुलालले बताए । बैठकमा मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिका संयोजक मोहना अन्सारी, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तीकरण उपसमितिका संयोजक रेशम गुरूङ र दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिका संयोजक डा. डीबी सुनारले विषयगत अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए । प्रतिष्ठानको बैठक सोमबार बिहान साढे ११ बजे पुनः बस्ने कांग्रेसले जनाएको छ ।

















