कांग्रेस संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन् । शनिबार समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन ५५१ सदस्यीय आयोजक समितिको संयोजनमा भेला बोलाइएको स्पष्ट पारे । नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भुमरीमा रुमल्लिएको उनले उल्लेख गरे । उनले यसको प्रत्यक्ष असर कांग्रेसमा परेको बताए । उनले ०८२ भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणामाथि सांघातिक आक्रमण र कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको स्मरण गरे । त्यस्तो संकटका बेला एकताको आवश्यकता रहेकामा त्यसो हुन नसकेको उनले बताए । पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसंग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन।

देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेता कोइरालाले पछिल्लो समय नागरिक स्वतन्त्रता र मानव अधिकार संकुचित हुँदै गएको र लोकतान्त्रिक संविधानमाथि प्रहार भइरहेको टिप्पणी गरे । साथै, सुनसरीको देवानगञ्जबाट सुरु भई मधेस प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति उनले दुःख व्यक्त गरे । उनले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको उचित उपचारको माग गरे । उनले भने, “धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो, यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।” पार्टीभित्रको निराशा चिर्न र नीतिगत स्पष्टता कायम गर्न आयोजना गरिएको राष्ट्रिय भेलामा वर्तमान तथा पूर्वपदाधिकारीहरू, सांसदहरू, प्रदेश तथा जिल्ला सभापतिहरू, भ्रातृसंगठनका प्रतिनिधिहरू र लोकतान्त्रिक आन्दोलनका बुद्धिजीवीहरूलाई निमन्त्रणा गरिएको छ । यो अभियानमा पार्टीका अर्का नेता डा। शेखर कोइरालाको पूर्ण समर्थन रहेको र व्यस्तताका कारण उपस्थित हुन नसके पनि ऐक्यबद्धता जनाएका उनले जानकारी दिए । राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय शक्तिहरूबीचको सहकार्य नै आजको मुख्य आवश्यकता रहेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *