सरकारमा दाबी गर्नुस्, कि मलाई विश्वासको मत दिनुस् : मुख्यमन्त्री बानियाँ

काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको राजनीतिक संकट समाधानका लागि दलहरूसँग दुई विकल्प प्रस्तुत गरेका छन्। मुख्यमन्त्री बानियाँले सोमबार बसेको सर्वदलीय बैठकमा ‘बहुमत जुटाएर सरकार गठनको दाबी गर्नुस्, नभए आफूले विश्वासको मत लिँदा सहयोग गर्नुस्’ भन्ने प्रस्ताव राखेका हुन्। बागमती प्रदेश सुशासन केन्द्र, ललितपुरमा सोमबार (आज) बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री बानियाँले प्रदेशमा देखिएको राजनीतिक अन्योल अन्त्य गर्न दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको बताए। बैठकमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलका सचेतक रत्नप्रसाद ढकालका अनुसार मुख्यमन्त्री बानियाँले राजनीतिक निकासका लागि आफू सहमतिका साथ अघि बढ्न तयार रहेको बताएका थिए। उनले या त विपक्षी दलहरूले तत्काल बहुमत जुटाएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने, नभए प्रदेश सरकारलाई निरन्तरता दिन विश्वासको मतमा सहयोग गर्नुपर्ने धारणा राखेका थिए। मुख्यमन्त्री बानियाँले प्रदेशमा देखिएको राजनीतिक अस्थिरताको असर विकास निर्माण र सेवा प्रवाहमा समेत परेको भन्दै स्थायी निकासका लागि सबै दल जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएको सचेतक ढकालले जानकारी दिए।

‘उहाँको प्रस्तावको जवाफमा हामीले पार्टी शीर्ष नेताहरुले निर्णय गरेको नयाँ गठबन्धन अनुसार केही दिनमै सरकारको नेतृत्वको लागि दाबी गर्ने जानकारी गरायौँ,’ सचेतक ढकालले भने, ‘अल्पमतमा परेको यत्तिका दिनसम्म सरकार कब्जा गरेर बस्न नहुने भन्दै छिट्टै मार्ग प्रशस्त गर्न पनि मुख्यमन्त्री ज्युलाई अनुरोध गरेका छौँ।’ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रदेशमा नयाँ सत्ता समीकरणका लागि विभिन्न दलबीच छलफल भइरहेका बेला मुख्यमन्त्रीले राजनीतिक सहमतिको प्रयासस्वरूप सर्वदलीय बैठक बोलाएका हुन्। नयाँ बन्ने गठबन्धनले बुहमत पुर्‍याउन नसकेको खण्डमा बहुमत सदस्यको समर्थन जुटाएर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने दाउमा मुख्यमन्त्री बानियाँ छन्। विशेष गरी एमाले र नेकपाबाहेक राप्रपा, हानेपा र नेमकिपाको साथले कुर्सी जोगाउने रणनीति कांग्रेसको छ। बैठकमा मुख्यमन्त्री बानियाँसहित निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा, नेकपा बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेकपा सचेतक रत्न ढकाल, हानेपा संसदीय दलका नेता शैलेन्द्र बज्राचार्य र नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईं सहभागी थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *