इतर समूहको राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला र १६५ प्रतिनिधि सभा क्षेत्र सभापतिलाई निम्तो

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी साउन २९ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ७ प्रदेश सभापति, ७७ जिल्ला सभापति र १६५ प्रतिनिधि सभा क्षेत्रीय समितिका सभापतिलाई सहभागिताका लागि पत्र पठाएको छ । भेलाका प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले उनीहरूलाई आफू सहभागी हुन र आफ्नो क्षेत्रमा रहेका पार्टीका निकायको नेतृत्व गरेका र यसअघि नेतृत्व गरेकाहरूलाई पनि सहभागी गराउन आग्रह गरिएको जानकारी दिए । पार्टीको आन्तरिक सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले तीन दिने भेला बोलाएको छ ।

भेलालाई भव्य र व्यवस्थित बनाउन समूहले सातै प्रदेशका सभापति, ७७ वटै जिल्लाका सभापति र १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका सभापतिहरूलाई उपस्थितिका लागि पत्राचार गरेको हो । विश्वकर्माले पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका नेताहरूको राय लिने उद्देश्यले भेला आयोजना गरिएकोले उनीहरूलाई बोलाइएको जानकारी दिए । भेलामा महाधिवेशन प्रतिनिधि, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, पूर्वमन्त्री, सांसद, प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारीहरूलाई समेत सहभागी गराइने विश्वकर्माले बताए । त्यसैगरी, महानगरपालिका, नगरपालिका र गाउँपालिका समितिका सभापतिहरूलाई समेत उपस्थित हुने वातावरण बनाइदिन सम्बन्धित क्षेत्रका नेतृत्वलाई पठाएको पत्रमा आग्रह गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *