कालो चस्मा होइन, रोजगारी सिर्जनाको बहस गरौँ : सांसद कर्ण
काठमाडौं । रास्वपाका सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री वालेन्द्र साहले कालो चस्मा लगाएको भनेर आलोचना गरेकोमा आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले देश बनाउन सफा नियत भएका सांसदले निर्वाचन क्षेत्रमा गएको कार्यक्रम लागु गर्नका निम्ति बहस गर्न आग्रह गरे । “आलोचना हुन्छ प्रधानमन्त्रीले कालो चस्मा लगाउनुभयो, आलोचना हुन्छ प्रधानमन्त्रीले कालो ड्रेस लगाउनुभयो,” उनले भने, “देश बनाउन सफा नितय भएका माननीयहरूले कालो चस्मा, कालो कोट होइन आफ्नो निर्वाचन क्षेत्रमा गएको कार्यक्रम लागु गर्न बहस गर्नुस् ।” उनले सरकारले रोजगारी सिर्जना गर्नका लागि गर्नुपर्ने कामहरूको बारेमा बहस गर्न आग्रह गरे । “स्थानीय सरकारमा देखिएको बेथिति, भ्रष्टाचार न्यूनीकरणका लागि आवश्यक कानुनको विषयमा बहस गर्नुस् । तर, बहसलाई विषयान्तर गरिएको छ,” उनले भने । सरकारले सुशासनमार्फत दिगो विकासतर्फ देशलाई उन्मुख गराएको दाबी गरे । बहस एजेन्डाकेन्द्रित हुनुपर्नेमा व्यक्तिकेन्द्रित भइरहेको भन्दै आपत्ति जनाए ।
















