भदौ १९ देखि भृकुटीमण्डपमा विद्युत् तथा इलेक्ट्रोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि। तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले जनाएको छ। नेपालको विद्युत्, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार प्रदर्शनीले उद्योग, व्यापार र प्रविधिबीच सहकार्य विस्तार गर्नुका साथै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न सहयोग पुर्याउनेछ। प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर तथा केबल, कन्डक्टर, स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय सामग्री, कार्यालय प्रविधि, सञ्चार तथा सूचना प्रविधि, वैकल्पिक ऊर्जा प्रणालीलगायत सामग्री तथा प्रविधि प्रदर्शन गरिनेछ।
नेपालमा बढ्दो जलविद्युत् उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षताको प्रवर्द्धन तथा विद्युतीय पूर्वाधारको विकासलाई थप व्यवस्थित बनाउन प्रदर्शनीले भूमिका खेल्ने आयोजकको विश्वास छ। प्रदर्शनीमार्फत उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकबीच प्रविधि, ज्ञान र अनुभव आदानप्रदानको अवसरसमेत सिर्जना हुने बताइएको छ। प्रदर्शनीमा नेपाल तथा विदेशबाट उद्योगी, व्यवसायी, उद्यमी, उत्पादक, वितरक, सरकारी अधिकारी, आर्किटेक्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डेकोरेटर, प्राविधिक, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारणसहित ३० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ। अन्तर्राष्ट्रिय प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल ९सीन० तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० ले सहयोग गर्नेछन्। आयोजकका अनुसार प्रदर्शनीले ऊर्जा, विद्युत् तथा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगको व्यावसायिक विस्तारसँगै प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्यलाई थप बलियो बनाउन योगदान पुर्याउनेछ।
















