हरित उद्यममा वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

काठमाण्डौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपालबीच नेपालको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा कृषकको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित समझदारी भएको छ। समझदारीपत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका छन्। सहकार्यअन्तर्गत सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा हरित मूल्य शृङ्खलामा संलग्न अन्य साझेदारलाई वित्तीय पहुँचसँगै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइने बैंकले जनाएको छ। दुवै संस्थाले विशेषगरी हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा आधारित व्यवसायको वित्तीय पहुँच विस्तार र मूल्य शृङ्खला वित्तीयकरणलाई प्राथमिकता दिनेछन्। यसका लागि हेल्भेटास नेपालको उद्यम विकास, समावेशी आर्थिक विकास तथा मूल्य शृङ्खलासम्बन्धी अनुभवलाई कुमारी बैंकको वित्तीय विशेषज्ञता र सेवा सञ्जालसँग जोडिनेछ। कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यम विकासमा लागेका व्यवसाय तथा उद्यमीलाई वित्तीय स्रोत उपलब्ध गराउनुका साथै व्यावसायिक क्षमता विकासमा समेत बैंकले सहयोग गर्ने बताए।

उनका अनुसार सहकार्यबाट सम्भावनायुक्त हरित व्यवसायलाई रोजगारी सिर्जना, नवप्रवर्तन तथा स्थानीय आर्थिक विकासको दीर्घकालीन आधारका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहकार्यले वित्तीय संस्था, उद्यमी, कृषक तथा हरित मूल्य शृङ्खलामा संलग्न सरोकारवालाबीच सम्बन्ध विस्तार गर्नुका साथै उद्यमीले प्राप्त वित्तीय स्रोत प्रभावकारी रूपमा परिचालन र व्यवस्थापन गर्न सक्ने क्षमता विकासमा समेत जोड दिने बैंकले जनाएको छ। कुमारी बैंकले आफ्नो सेवा सञ्जालमार्फत कार्यक्रमलाई लक्षित समुदायसम्म विस्तार गर्ने जनाएको छ। बैंकका अनुसार हाल उसका २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा एक हजार २३३ भन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा छन्। बैंकले हेल्भेटाससँगको सहकार्यबाट हरित उद्यमको विकास, मूल्य शृङ्खला सुदृढीकरण, रोजगारी सिर्जना तथा जलवायु उत्थानशील आर्थिक प्रणाली निर्माणमा योगदान पुग्ने अपेक्षा गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *