बाढीपीडितको राहत तथा उद्धारका लागि सहारा नेपालले १५ लाख रुपैयाँ सहयोग गर्ने

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि सरकारले गरेको सहयोग आह्वानलाई आत्मसात् गर्दै सहारा नेपालले उक्त रकम प्रदान गर्ने निर्णय गरेको कार्यकारी प्रमुख महेन्द्र गिरीले बताउनुभयो ।

सहकारी क्षेत्रमा विगत तीन दशकदेखि क्रियाशील सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कर्मचारी परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो। सहारा नेपालले उक्त सहयोगबाट बाढी प्रभावित जिल्लामा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। विपद्को घडीमा बाढी प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा सबैले आ–आफ्नो इच्छाअनुसार सहयोग गर्न पनि संस्थाले अपिल गरेको छ। सहारा नेपालले बाढी तथा विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *