श्रम संस्कृतिको पहिलो बैठकमा किरातीको २४ बुँदे फरक प्रस्ताव
विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा पहिलो पटक सहभागी भएका किरातीले विधान निर्माणदेखि निर्वाचन रणनीति र श्रमदान अभियानलाई समेटेर प्रस्ताव पेस गरेका हुन् । किरातीले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा लोकतान्त्रिक र समावेशी विधान निर्माणका लागि तत्काल ‘विधान मस्यौदा समिति’ गठन गर्न प्रस्ताव गरेका छन् । पार्टीका हरेक आर्थिक क्रियाकलापलाई पारदर्शी बनाउन आर्थिक नियमावली, बजेट र नियमित लेखापरीक्षणको स्पष्ट प्रणाली लागु गर्नुपर्ने उनको प्रस्ताव छ । आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटका लागि वस्तुनिष्ठ र पारदर्शी मापदण्ड तयार गर्न कार्यदल गठन गर्ने प्रस्ताव उनले गरेका छन् ।
नेतृत्वको कार्यशैलीमा सुधार ल्याउन उनले ‘सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी’को अवधारणा अघि सारेका छन् । महत्त्वपूर्ण निर्णयहरू पदाधिकारी र सम्बन्धित कमिटीको छलफलबाट मात्र गरिनुपर्ने, निर्णयको अभिलेख राख्नुपर्ने र नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा हुनुपर्ने उनको प्रस्ताव छ । नेता तथा कार्यकर्ताको क्षमता, अनुभव र रूचिका आधारमा वैज्ञानिक ढंगले जिम्मेवारी बाँडफाँड गर्नुपर्ने प्रस्ताव पनि उनले गरेका छन् । किरातीले निर्वाचन आयोगमा पार्टीको विवरण तत्काल अद्यावधिक गर्ने प्रस्ताव पनि गरेका छन् । पार्टीलाई आधुनिक ‘डिजिटल प्रणाली’मा लैजानुपर्ने प्रस्ताव गरेका उनले सदस्यता, संगठनको अभिलेख, आर्थिक विवरण र सञ्चारलाई एकीकृत डिजिटल प्रणालीमा लैजानुपर्ने उनको प्रस्ताव छ । पार्टीको नाम र दर्शन अनुरूप ‘श्रम संस्कृति’लाई स्थापित गर्न ‘श्रमदान विभाग’ गठनको प्रस्ताव उनले गरेका छन् । विभागमार्फत सिर्जनात्मक र जनमुखी ढंगले श्रमदान अभियान सञ्चालन गर्ने उनको प्रस्ताव छ । पार्टीका गतिविधिहरूलाई व्यवस्थित गर्न वार्षिक क्यालेन्डर जारी गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । पार्टीभित्रका आन्तरिक विवाद समाधान गर्न प्रभावकारी अनुशासन आयोग गठन र आचारसंहिता लागु गर्नुपर्ने किरातीको अर्को प्रस्ताव छ । नेतृत्व र कार्यकर्ताबीच नियमित संवाद र सुझाव आदानप्रदानका लागि प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने किरातीको प्रस्तावमा उल्लेख छ ।

















