भोटेकोशी पीडितको लागि किसान साकोसको २ लाख १ हजार सहयोग
गैंडाकोट नवलपरासीमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । संस्थाले प्राकृतिक विपत्तिबाट सिर्जित यस विषम परिस्थितिमा बाढीबाट प्रभावित परिवारहरुको राहात, उद्धार तथा पुनस्स्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले उक्त कोषमा सहयोग गरेको हो । संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी र संस्थाको संयुक्त योगदान मार्फत २ लाख १ हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने निर्णय गरिएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीबाट रसुवा, नुवाकोट र धादिङ जिल्लामा भएको अकल्पनीय मानवीय एवम् भौतिक क्षतिप्रति संस्था अत्यन्त मर्माहत भएको जनाएको छ । संस्थाले विपद्को यस कठिन घडीमा पीडित परिवारजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । विपद्को यस दुस्खद समयमा जो जससँग जे छ र सकिन्छ सोही अनुरुप सहयोग, सद्भाव र मानवीय सेवामा उदारतापूर्वक सहभागिताको लागि सरकारसँग हातेमालो गर्न सम्पूर्णमा संस्थाले आव्हान गरेको छ ।

















