उद्योगमन्त्री यादवको उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति आपत्तिजनक : महासंघ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले एलपी ग्यासको आपूर्ति व्यवस्थाका सन्दर्भमा व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार (भदौ २५) विज्ञप्ति जारी गर्दै महासंघले उद्योगी–व्यवसायीप्रति मन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएको हो । बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्नेजस्तो अभिव्यक्ति दिनु अत्यन्तै आपत्तिजनक, गैरजिम्मेवार र दुःखद भएको महासंघले उल्लेख गरेको छ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि पृथ्वी राजमार्गमा सडक कटान हुँदा ग्यास बुलेटको ढुवानीमा समस्या उत्पन्न भएको यथार्थबीच मन्त्रीबाट आएको यस्तो अभिव्यक्तिले विपद्को समयमा सरकारसँग हातेमालो गर्दै राहत, उद्धार तथा अत्यावश्यक वस्तुको आपूर्तिमा जुटिरहेका उद्योगी–व्यवसायीको मनोबल कमजोर बनाउने महासंघको ठहर छ । प्राकृतिक विपद्, महामारी तथा अरू संकटका समयमा समेत निजी क्षेत्रले सरकारसँग सहकार्य गर्दै राहत, उद्धार, पुनर्स्थापना र अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थालाई सहज बनाउन निरन्तर योगदान गर्दै आएको महासंघले जनाएको छ । “ग्यास उद्योगको संख्या आवश्यकताभन्दा बढी रहेको, उद्योग खारेज गर्नुपर्ने वा दुईवटाभन्दा बढी ग्यास उद्योग आवश्यक नरहेको भन्ने धारणा समेत यथार्थपरक नभएको महासंघको स्पष्ट धारणा छ ।
सरकार आफैँले उद्योग सञ्चालन गर्नेभन्दा पनि अभिभावकीय, नियामकीय, सहजकर्ता तथा समन्वयकर्ताको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने महासंघको धारणा रहँदै आएको छ । निजी क्षेत्रलाई प्रोत्साहित गर्दै प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नु, लगानीको सुरक्षा सुनिश्चित गर्नु र व्यवसाय सञ्चालनका अवरोध हटाउनु सरकारको प्रमुख जिम्मेवारी भएको महासंघले स्मरण गराउँदछ,” विज्ञप्तिमा उल्लेख छ । महासंघले सरकार र निजी क्षेत्रबीचको विश्वास बलियो हुनुपर्नेमा जोड दिएको छ । सरकार र निजी क्षेत्र एकार्काका प्रतिस्पर्धी नभई मुलुकको आर्थिक विकासका साझेदार भएकाले समस्या समाधानका निम्ति परस्पर सम्मान, विश्वास र निरन्तर संवाद आवश्यक रहेको महासंघको धारणा छ ।“निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन, आर्थिक विकासको साझेदार हो । उद्योगी–व्यवसायीलाई लाञ्छित गरेर होइन, विश्वासमा लिएर मात्र उद्योग, उत्पादन, रोजगारी र अर्थतन्त्रलाई अघि बढाउन सकिन्छ । नेपालको अर्थतन्त्रलाई वर्तमान संकटबाट बाहिर निकाल्नुपर्ने यस संवेदनशील अवस्थामा दोषारोपण होइन सहकार्य, अविश्वास होइन विश्वास र टकराव होइन संवाद आवश्यक छ,” महासंघले भनेको छ ।

















