नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा सर्यो अन्तिम सुनुवाइ
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ सारिएको छ । बिहीबार विशेष अदालतमा मुद्दा ‘हेर्न नमिल्ने’ भएपछि सुनुवाइ अर्को दिनका निम्ति सारिएको हो । भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइका निम्ति न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलास तय भएको थियो । अदालतले फैसला प्रयोजनका निम्ति यसअघि अन्तिम सुनुवाइको पेसी तय गरी सरकारी वकिल र नेता नेपाल पक्षका कानुन व्यवसायीसँग बहस नोट समेत मागेको थियो । न्यायाधीश विदुर कोइरालाले मुद्दा हेर्न नमिल्ने भएका कारण अन्तिम सुनुवाइको पेसी पछाडि धकेलिएको हो । इजलासको मागबमोजिम कानुन व्यवसायीका तर्फबाट बहस नोट पेस भइसकेको छ । विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले सुनुवाइका निम्ति अर्को पेसी यही भदौ ३० गतेलाई तय गरिएको जानकारी दिइन् । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गामा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललगायत ९३ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो । ०८२ जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
अख्तियारले नेपाललगायत प्रतिवादीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय मागदाबी गरेको छ । उक्त हदबन्दी छुटमा जग्गा किन्न र बिक्री गर्ने निर्णय प्रक्रियामा तत्कालीन प्रधानमन्त्री नेपाल, त्यति बेलाका अरू अधिकारीहरू भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, मुख्यसचिव माधव घिमिरे, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्तसहित उच्चपदस्थ अधिकारी संलग्न रहेको अख्तियारको दाबी थियो । प्रतिवादी रहेका घिमिरेको मुद्दा विचाराधीन रहेकै अवस्थामा निधन भइसकेको छ । मन्त्रिपरिषद्को नीतिगत निर्णयमा मुद्दा चलाउन नपाइने कानुनी व्यवस्था छ । तर, व्यक्तिगत संलग्नता देखाएर अख्तियारबाट मुद्दा दायर गरिएको थियो । नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले ०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो । त्यसअघि ०६६ माघ १८ गते नेपालले ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिलाएको अभियोगपत्रमा उल्लेख छ । उनीहरूमाथि ३१४ रोपनी १५ आना दुई पैसा एक दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरेको अभियोग छ ।

















