कांग्रेस महाधिवेशनका लागि ६५ सय बढी प्रतिनिधि चयन हुने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ६ हजार ५२८ प्रतिनिधि चयन हुने बताइएको छ । ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र सभापति र पालिका सभापतिसहित ६ हजार ५२८ प्रतिनिधि चयनको अनुमान गरिएको बताए । कांग्रेसको विधानअनुसार पाँच हजार ४४५ महाधिवेशन प्रतिनिधि, ३३० प्रदेशसभा क्षेत्र सभापति र ७५३ पालिका सभापति चयन हुनेछन् । त्यसमा विदेशस्थित नेपाली जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट चयन हुने प्रतिनिधिसमेत जोडिने कटुवालले बताए । आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए । कांग्रेसमा आबद्ध सबैलाई वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कटुवालले आग्रह गरे । कटुवालले कांग्रेसले सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रममा आठ लाख ७० हजार जनाको नामावली प्राप्त भएको बताए ।
















