आज यी प्रदेशमा हुन सक्छ भारी वर्षा
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ । साथै न्यून चापीय क्षेत्र बंगालको खाडीको पश्चिम मध्य भू भाग आसपास रहेको र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रूपमा पश्चिम,उत्तरपश्चिम दिशातिर सर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भू,भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशको पहाडी भू,भागको एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

















