त्रिपुरासुन्दरीको विशालनगरका करिब १०० घरमा लेदो पस्यो, ४७ जनाको उद्धार
काठमाडौं । बूढीगण्डकी नदीमा बाढी आउँदा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका विशालनगरका करिब १०० घरमा लेदो पसेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । “धादिङको त्रिपुरासुन्दरी गाउँपालिका विशालनगरका करिब १०० घरमा लेदो पसेको छ,” प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भने । सल्लेरीस्थित टाइम्स जलविद्युत् आयोजनाका १२ कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । बाढीले टाइम्स जलविद्युत् आयोजनाको भौतिक संरचनामा क्षति गरेको छ । उनका अनुसार, बूढीगण्डकीमा आएको बाढीले दोभान खोला २४।५ मेगावाट क्याम्प क्षेत्रका केही क्षति गर्नुको साथै बेलिब्रिज बगाएको छ । यारु खोला ३०।५९ मेगावटामा बेलिब्रिजमा क्षति गरेको छ भने निर्माण सामाग्री, उपकरण बगाएको छ । माछा खोला १६ मेगावाटमा आयोजना स्थल पुग्ने पुलमा पनि क्षति गरेको उनले जनाए । बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको ४ वटा हेलिकोप्टर खोज तथा उद्धारमा परिचालन भएको प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बताए ।
प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखिएको उनले जनाए । “आरुघाटस्थित पक्की पुल बगाएपछि तत्काल उक्त क्षेत्रमा बेलिब्रिज राख्न सकिने वा नसकिन सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न प्राधिकरण र सडक विभागको टोली ड्रोनसहित परिचालन गरिएको छ,” प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले भने । बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाबाट १२७ जना, नेपाल प्रहरीबाट ८३ जना र सशस्त्र प्रहरी वलबाट १७७ जना गरी ३८६ जना खोज तथा उद्धारमा परिचालन भएको उनले बताए । “असोज २५ गते बिहान गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका ६ लोप्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गई सोही स्थान भएर बहने बूढीगण्डकी नदी थुनिई लेदो सहितको ठूलो बाढी जाँदा भौतिक क्षति भएको छ । हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन । भौतिक क्षति धेरै भएको छ,” उनले भने । बूढीगण्डकी नदीमा बाढी आएको जानकारी आइतबार बिहान ६ बजे प्राधिकरणले प्राप्त गरेको उलने जनाए । बाढीको सुचना प्राप्त भएपछि बेनिघाटसम्मका सर्वसाधरणलाई एसएमएस मार्फत जानकारी दिई सतर्क गराइएको थियो ।

















