क्रिश्चियन धर्म प्रचार गर्ने १० विदेशी निष्कासित, तीन वर्ष नेपाल प्रवेशमा रोक

काठमाडौं । अध्यागमन विभागले नेपालमा क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा १० विदेशीलाई निष्कासित (डिपोर्ट) गरेको छ । उनीहरूलाई तीन वर्ष नेपाल प्रवेशमा रोक लगाउँदै निष्कासित गरिएको विभागले जनाएको छ । “मोरङ जिल्ला, कानेपोखरी गाउँपालिका वडा नं. ७ बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामको संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका एक नाबालकसहित १० विदेशी नागरिकहरूलाई तीन वर्षसम्मको लागि नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको छ,” विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । पर्यटक भिसामा नेपाल आएका उनीहरूले भिसाको उद्देश्य विपरीतका कार्य गरी अध्यागमन कानुनको उल्लंघन गरेको कसुरमा जनही ५० हजार रुपौयाँ जरिबाना गरी निष्कासन गर्ने निर्णय गरिएको विभागको भनाइ छ । “निष्कासन हुनेमध्ये पाँचजना अमेरिका, दुईजना ब्राजिल र तीनजना क्यानडाका नागरिक छन् । उनीहरूमध्ये नाबालकलाई निजको आमाबुवासँगै प्रस्थान गराउने निर्णय भएको छ,” विभागले विज्ञप्तिमा भनेको छ । यही कात्तिक ११ गते पर्यटक भिसामा नेपाल आई क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *