भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने मधेश सरकारको निर्णय
काठमाडौं । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । असोज ३० गते कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । एमालेले समर्थन फिर्ता लिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो । त्यस्तै, दुर्घटनामा घाइते भएकाहरूको मधेश प्रदेशका प्रादेशिक अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
















