आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैन : खरेल

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले आईजीपी हटाउने वा राख्ने विषय सरकारको निर्णय र विवेकमा निर्भर रहने बताएका हुन् । सरकारले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको आईजीपीबाट हटाएर डा. मनोज केसीलाई नियुक्ति गरेको थियो । त्यसयता आमनागरिक र पार्टीपंक्तिबाटै सरकारको आलोचना गरिँदै आएको छ ।

“नेपाल प्रहरीका आईजीपीलाई हटाउने वा यथावत् राख्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन,” उनले भने, “आईजीपीलाई हटाऊ वा राख भन्ने दुवै किसिमको निर्देशन पार्टीले नदिएको कुरा म पुनः स्पष्ट पार्न चाहन्छु । यो सरकारको विवेक र निर्णयको विषय हो ।” यस विषयमा सरकारका तर्फबाट पनि धारणा सार्वजनिक भइसकेको उनले उल्लेख गरे । थप आवश्यक विषय सरकारले नै स्पष्ट पार्दै जाने उनले बताए । “पछिल्लो समय सरकारका तर्फबाट पनि यसबारे धारणा सार्वजनिक भइसकेको छ । यो विषय अदालतसम्म समेत पुगेकाले अहिले विभिन्न प्रक्रियामा रहेको छ,” उनले भने, “आवश्यक परेमा सरकारले यसबारे थप स्पष्ट पार्दै जानेछ ।” आईजीपीसँग सम्बन्धित विषय अदालतसम्म पुगिसकेको र कतिपय प्रक्रिया अघि बढिरहेको अवस्थामा पार्टीले थप टिप्पणी गर्नु उपयुक्त नहुने उनको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *