कामना सेवा विकास बैंकको सहायक कम्पनी बन्यो आकाश क्यापिटल,नाम पनि फेरिने
काठमाडौं । आकाश क्यापिटल लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले कम्पनीको नाम परिवर्तन गरी ‘कामना सेवा क्यापिटल लिमिटेड’ कायम गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको साधारणसभा सोमबार ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटलको संस्थापक सेयर अधिग्रहण गरी आफ्नो सहायक कम्पनी बनाएपछि आयोजित यो पहिलो वार्षिक साधारणसभा हो । सभाले आर्थिक वर्ष २०८२।८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरणहरू पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३।८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसैगरी, कामना सेवा विकास बैंकको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक समितिमा नियुक्त भएका कर्मचारीहरूको नियुक्तिलाई सभाले अनुमोदन गरेको छ । सभाले कम्पनीको पुँजी वृद्धि, नाम परिवर्तन, संस्थागत सुदृढीकरण तथा व्यवसायको कार्यक्षेत्र विस्तारसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पनि पारित गरेको छ ।
यी प्रस्ताव कार्यान्वयन भएपछि कम्पनीको पुँजीगत आधार थप मजबुत हुने र आगामी व्यावसायिक विस्तार तथा नयाँ लगानीका अवसर उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ । कम्पनीको नयाँ स्वामित्व संरचना र संस्थागत पहिचानलाई प्रतिबिम्बित गर्ने उद्देश्यले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरिएको हो । आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि कम्पनी ‘कामना सेवा क्यापिटल लिमिटेड’ नामबाट सञ्चालनमा आउनेछ । कामना सेवा विकास बैंकको सहायक कम्पनीका रूपमा अघि बढिरहेको क्यापिटलले आगामी दिनमा मर्चेन्ट बैंकिङ तथा पुँजी बजारसम्बन्धी वित्तीय सेवाको दायरा विस्तार गर्ने लक्ष्य लिएको छ । पारित प्रस्तावहरूको कार्यान्वयनसँगै कम्पनीको संस्थागत क्षमता अभिवृद्धि तथा व्यावसायिक विविधीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ । साथै, नेपालको पुँजी बजारको विकासमा योगदान गर्दै लगानीकर्तालाई विविध वित्तीय सेवा तथा लगानीका अवसर उपलब्ध गराउने कम्पनीको लक्ष्य छ ।

















