लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन हुँदै,करिब ६५० सहकारीकर्मी सहभागी हुने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आगामी मंसिर २४ देखि २६ गतेसम्म लुम्बिनीमा तीनदिने ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुने भएको छ । सम्मेलनमा स्वदेश तथा विदेशका गरी करिब ६५० सहकारीकर्मी सहभागी हुने आयोजकले जनाएको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले दिगो शान्तिका लागि न्याय, समावेशिता, समानता र सबैका लागि आर्थिक अवसर आवश्यक रहेको भन्दै सहकारीमार्फत शान्ति र दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए । पारस्परिक सहयोग, लोकतान्त्रिक सहभागिता र समानताका सिद्धान्तमा आधारित सहकारी संस्था शान्ति निर्माणका प्रभावकारी माध्यम हुन सक्ने भएकाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई सम्मेलनस्थल छनोट गरिएको उनको भनाइ छ । सम्मेलनमा सहभागिताका लागि स्वदेश तथा विदेशका सहकारीकर्मीलाई सदस्य संघमार्फत आह्वान गरिएको छ । हालसम्म उत्साहजनक रूपमा दर्ता भइरहेको जानकारी दिँदै पोखरेलले इच्छुक सहकारीकर्मीलाई समयमै नाम दर्ता गराई आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेका छन् । सम्मेलनमा सहभागी हुन स्वदेशीका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ र विदेशीका लागि २५० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ । सम्मेलनले विश्व शान्तिमा सहकारीको योगदानबारे छलफल गर्नुका साथै नेपालको सहकारी क्षेत्रमा देखिएका समस्या र तिनको समाधान खोज्ने लक्ष्य राखेको छ । विशेषगरी केही सहकारी संस्थाले सदस्यको बचत अपचलन गर्दा सिङ्गो सहकारी अभियानमाथि प्रश्न उठिरहेको अवस्थामा क्षेत्रका समस्या पहिचान, सुधार र व्यवस्थापनका उपायबारे छलफल गरिने पोखरेलले बताए । सहकारी क्षेत्रलाई थप सुदृढ र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय असल अभ्यासलाई नेपालमा भित्र्याउने विषयलाई पनि प्राथमिकता दिइनेछ । सम्मेलनमा सहकारीको दिगोपन, वित्तीय स्रोत परिचालन, पुँजीको उत्पादनमूलक उपयोग, नयाँ प्रविधिको प्रयोग तथा सहकारी क्षेत्रका समसामयिक चुनौतीबारे कार्यपत्र प्रस्तुत र छलफल हुनेछन् । त्यसैगरी सहकारीमार्फत शान्ति निर्माण, आर्थिक समानता, युवा तथा महिला नेतृत्व, जलवायु परिवर्तन र दिगोपन, दिगो विकास लक्ष्य, डिजिटल रूपान्तरण तथा विश्वव्यापी साझेदारी सम्मेलनका प्रमुख विषय रहनेछन् । सम्मेलनमा स्थानीय, प्रदेश र संघीय सरकार तथा सहकारी अभियानबीच अन्तरसंवादसमेत गरिनेछ । यसबाट सरकार र सहकारी क्षेत्रबीच देखिएका नीतिगत अन्योल हटाउन, सहकारीमैत्री नीति निर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई व्यवस्थित गर्न प्रस्तावित सहकारी प्राधिकरणसम्बन्धी कानुनलाई प्रभावकारी बनाउन आवश्यक विषयमा समेत छलफल गरिनेछ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) एसिया प्रशान्तका अध्यक्ष डा. चन्द्रपाल सिंह यादवसहित अन्तर्राष्ट्रिय सहकारी क्षेत्रका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुनेछन् । उनीहरूको सहभागिताले विभिन्न देशमा अपनाइएका सफल अभ्यास, वित्तीय परिचालनका उपाय र सहकारी प्रविधिबारे अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने महासंघको विश्वास छ ।

सम्मेलनबाट सहकारीमार्फत शान्तिका लागि आधिकारिक ‘लुम्बिनी घोषणापत्र’ जारी गर्ने, सम्मेलनको कार्यवाही प्रतिवेदन तयार गर्ने तथा सरकार र अन्तर्राष्ट्रिय सहकारी निकायका लागि कार्यान्वयनयोग्य नीतिगत सिफारिस प्रस्तुत गर्ने लक्ष्य राखिएको छ । साथै अन्तर्राष्ट्रिय साझेदारी र युवा सहकार्य सञ्जाल विस्तार तथा विश्व सहकारी शान्ति मञ्च स्थापनाका लागि पहल गरिनेछ । विज्ञान तथा प्रविधिमा भएको प्रगतिका बाबजुद विश्वमा गरिबी, असमानता, द्वन्द्व र वातावरणीय क्षय कायम रहेकाले सहकारीमार्फत समावेशी आर्थिक वृद्धि, सामाजिक सद्भाव र दिगो विकासलाई प्रवर्द्धन गर्न सम्मेलनले सकारात्मक सन्देश दिने आयोजकको विश्वास छ । सम्मेलनबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ । सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन, बजारीकरण, कृषि, वित्तीय क्षेत्र र उद्यम व्यवसायमा परिचालन गर्ने अन्तर्राष्ट्रिय अभ्यास नेपालमा भित्र्याई आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने लक्ष्यसमेत राखिएको छ । त्यसैगरी जलवायु परिवर्तनसम्बन्धी ज्ञान आदानप्रदान, सीमापार परियोजना सञ्चालन र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमार्फत नेपाललाई सहकारी तथा शान्ति संवादको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा महासंघले गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *