माछापुच्छ्रे बैंक र रिज रेमिटबीच विप्रेषण सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको विप्रेषण सेवा प्रदायक कम्पनी रिज रेमिट लिमिटेडबीच विप्रेषण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै दुई कम्पनीबीचको विप्रेषण कारोबार औपचारिक रूपमा सुरु भएको छ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्देश्यले गरिएको यस सम्झौतासँगै युरोपमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले रिज रेमिटको मोबाइल एप प्रयोग गरी सहज रूपमा नेपालमा रकम पठाउन सक्नेछन् । यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै विप्रेषण सेवा एमबीएल रेमिटमार्फत नगद भुक्तानी लिन सकिनेछ । साथै, माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा पनि सिधै रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत सेवाग्राहीले नगद भुक्तानीसमेत प्राप्त गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय विप्रेषण कारोबारलाई सरल बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले सुरक्षित, भरपर्दो, छिटो र किफायती डिजिटल रकम स्थानान्तरण सेवा प्रदान गर्दै आएको छ । विप्रेषणले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

बैंकका अनुसार यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न सहयोग पुर्‍याउनेछ । यसबाट सेवाग्राहीले आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । माछापुच्छ्रे बैंक सुरक्षित, विश्वसनीय र सहज विप्रेषण सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । बैंकले प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पूर्ण पालना गर्दै पारदर्शी, उत्तरदायी र अनुपालनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको छ । माछापुच्छ्रे बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिमाल, पहाड र तराईमा रहेका १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर गरी कुल २५५ स्थानबाट सेवा प्रदान गर्दै आएको छ । बैंकका १९४ एटीएम सञ्चालनमा छन् । यी सेवा सञ्जालमार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधिसहितका सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *