चौधरी ग्रुपको ३ कम्पनी उत्कृष्ट करदाता
काठमाडौं । कुनै पनि व्यावसायिक संस्थाको सफलता उसको कारोबार, नाफा वा बजार विस्तारले मात्र मापन हुँदैन । उसले राज्यप्रतिको दायित्व कति इमानदारीपूर्वक निर्वाह गरेको छ र राष्ट्रिय अर्थतन्त्रमा कस्तो योगदान पुर्याएको छ भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । यही मान्यतालाई व्यवहारमा उतार्दै आएको चौधरी ग्रुपले कर योगदानमा निरन्तर छलाङ मारिरहेको छ । पछिल्लो समय चौधरी ग्रुपअन्तर्गतका तीन प्रमुख व्यावसायिक संस्थाले विभिन्न विधामा उत्कृष्ट करदाताका रूपमा सरकारी सम्मान प्राप्त गरेसँगै ग्रुपको कर योगदान पुनः चर्चामा आएको छ । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सीजी इम्पेक्स र नबिल बैंक उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन् । त्यसैगरी, सीजी मोटर्स आर्थिक वर्ष २०८१।८२ मा ललितपुर कर कार्यालयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । “हाम्रा विभिन्न व्यावसायिक संस्थाले कर योगदानका क्षेत्रमा प्राप्त गरेका यी सम्मानले जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएको छ । राष्ट्र निर्माण र आर्थिक समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ भन्ने विश्वासका साथ चौधरी ग्रुप सधैँ राज्यको राजस्वमा योगदान गर्दै मुलुकको विकास यात्रामा साझेदार बन्न प्रतिबद्ध छ,” चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने । यी सम्मान कुनै एउटा कम्पनीको व्यावसायिक उपलब्धिमा मात्र सीमित छैनन् । विभिन्न क्षेत्र र विधामा चौधरी ग्रुपको व्यावसायिक उपस्थिति, लगानीको विस्तार र राज्यकोषमा पुर्याउँदै आएको योगदानको प्रतिबिम्ब पनि हुन् । सीजी इम्पेक्स प्रालि वस्तु व्यापारतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको हो । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै, चौधरी ग्रुपले मुख्य रुपमा प्रबर्धन गरिरहेको नबिल बैंक बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ ।
यसैगरी, ग्रुपको अटोमोटिभ डिभिजन सीजी मोटर्सले आर्थिक वर्ष २०८१।८२ मा ललितपुरस्थित आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको सम्मान प्राप्त गरेको छ । आन्तरिक राजस्व कार्यालय, ललितपुर–१ का प्रमुख कर अधिकृत शिवकुमार राईले सीजी मोटर्सका तर्फबाट निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरेका थिए । एउटै व्यावसायिक घरानाअन्तर्गतका संस्थाहरूले वस्तु व्यापार, बैंकिङ र अटोमोबाइलजस्ता फरक–फरक क्षेत्रमा उत्कृष्ट करदाता सम्मान प्राप्त गर्नुले चौधरी ग्रुपको व्यावसायिक विविधता र आर्थिक गतिविधिमा रहेको उपस्थितिलाई पनि उजागर गरेको छ । नेपालका एकमात्र डलर अर्वपति विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी ग्रुपको कर योगदान पछिल्लो वर्षमा मात्र बढेको होइन । ग्रुपले विगतदेखि नै आफ्नो व्यावसायिक विस्तारसँगै राज्यलाई बुझाउने करको आकार पनि बढाउँदै आएको छ । आर्थिक वर्ष २०८१।८२ मा चौधरी ग्रुपले सरकारलाई कुल २५ अर्ब ५९ करोड रुपैयाँ राजस्व योगदान गरेको छ । यो रकम नेपालको कुल राजस्वमा करिब २.३४ प्रतिशत योगदान हो । आर्थिक वर्ष २०७७।७८ देखि २०८१।८२ सम्मको पाँच वर्षमा मात्रै ग्रुपले ९२ अर्ब २६ करोड रुपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरेको थियो । यी तथ्यांकले चौधरी ग्रुपको कर योगदानमा देखिएको निरन्तर वृद्धि र राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्छन् । चौधरी ग्रुपको कर योगदानमा भएको वृद्धिको एउटा प्रमुख आधार यसको लगानी र व्यावसायिक क्षेत्रको विस्तार हो । उत्पादन, बैंकिङ, वित्तीय सेवा, उपभोग्य वस्तु, अटोमोबाइल, पूर्वाधार, आतिथ्य सत्कार तथा अन्य विभिन्न क्षेत्रमा ग्रुपको लगानी विस्तार हुँदै आएको छ । नयाँ उद्योग तथा व्यवसाय सञ्चालन, उत्पादन क्षमता वृद्धि, बजार विस्तार र रोजगारी सिर्जनाले आर्थिक गतिविधि बढाउँछन् । यससँगै आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महसुल तथा अन्य विभिन्न शीर्षकमा राज्यको राजस्वमा योगदान पुग्छ । विशेषगरी, सीजी मोटर्सले विद्युतीय तथा अन्य सवारीसाधनको बिक्री, वितरण र बजारीकरणमार्फत नेपालको अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ । सीजी इम्पेक्सले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका वस्तुको आयात तथा व्यापार गर्दै आएको छ भने नबिल बैंकले बैंकिङ तथा वित्तीय सेवामार्फत अर्थतन्त्रमा योगदान पुर्याइरहेको छ ।
यी फरक प्रकृतिका व्यवसायबाट प्राप्त उपलब्धिले चौधरी ग्रुपको व्यावसायिक संरचना कति विविध र व्यापक छ भन्ने देखाउँछन् । नेपालमा व्यावसायिक समूहहरूले सरकारलाई तिरेको कर अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा अझै संस्थागत हुन सकेको छैन । यसका कारण कतिपय अवस्थामा ठूला व्यावसायिक समूहले राज्यकोषमा पुर्याएको वास्तविक योगदानबारे पर्याप्त जानकारी सार्वजनिक रूपमा उपलब्ध हुँदैन । यस्तो अवस्थालाई चिर्दै चौधरी ग्रुपले हरेक वर्ष आफ्नो समग्र कर योगदान सार्वजनिक गर्दै आएको छ । ग्रुपले कर विवरण सार्वजनिक गर्ने अभ्यासलाई केवल आफ्नो व्यावसायिक उपलब्धि प्रस्तुत गर्ने माध्यमका रूपमा मात्र नभई निजी क्षेत्रको पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने प्रयासका रूपमा पनि लिएको छ । समूहगत रूपमा कर योगदानको विवरण सार्वजनिक गर्ने अभ्यासले व्यावसायिक क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानको मूल्यांकन गर्न सहज बनाउँछ । साथै, सरकारलाई पनि ठूला व्यावसायिक समूहहरूको कर योगदान छुट्टै अभिलेखीकरण र सार्वजनिक गर्ने प्रणाली विकास गर्न प्रेरित गर्न सक्छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीका अनुसार राष्ट्रिय अर्थतन्त्रमा समय समयमा देखिने प्रतिकूल परिस्थितिका बाबजुद पनि राज्यकोषमा निरन्तर उच्च योगदान गर्न पाउनु चौधरी ग्रुपका लागि गौरवको विषय रहदै आएको बताए । चौधरीले स्थापित व्यवसायको वृद्धि र नयाँ व्यवसायमा लगानी विस्तारमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आगामी वर्षहरूमा पनि राजस्व योगदान वृद्धि गर्ने लक्ष्य रहेको बताए । “कर राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार हो । व्यवसायको सफलता केवल व्यावसायिक विस्तार र मुनाफामा मात्र सीमित हुँदैन, राज्यप्रतिको दायित्व इमानदारीपूर्वक निर्वाह गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ,” चौधरीले भने । वास्तवमा कर राज्य सञ्चालनको आधार मात्र होइन, विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने प्रमुख स्रोत पनि हो । निजी क्षेत्रले बुझाउने करबाट राज्यका नागरिकका लागि आवश्यक सार्वजनिक सेवा तथा विकासका गतिविधि सञ्चालन गर्न स्रोत जुट्छ । त्यसैले कुनै व्यावसायिक संस्थाले आर्जन गरेको नाफासँगै राज्यलाई बुझाउने कर र सिर्जना गरेको रोजगारीलाई पनि उसको सफलताको महत्त्वपूर्ण सूचक मान्नुपर्छ । पछिल्लो समय चौधरी ग्रुपअन्तर्गतका सीजी इम्पेक्स, नबिल बैंक र सीजी मोटर्सले प्राप्त गरेका उत्कृष्ट करदाता सम्मानले यही तथ्यलाई थप स्थापित गरेका छन् । फरक–फरक व्यावसायिक क्षेत्रमा उत्कृष्ट करदाता बन्न सफल यी संस्थाहरूको उपलब्धिले चौधरी ग्रुपको व्यावसायिक विस्तारसँगै राज्यप्रतिको दायित्व निर्वाहमा देखिएको सक्रियतालाई पनि प्रतिबिम्बित गर्छ । नाफा कमाउनु व्यवसायको स्वाभाविक उद्देश्य हो । तर, त्यो नाफाबाट राज्यलाई कर बुझाउँदै राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान गर्नु व्यावसायिक जिम्मेवारी हो । चौधरी ग्रुपले कर योगदानमा अघि बढाएको निरन्तर यात्राले निजी क्षेत्रको सफलता र राष्ट्रको समृद्धि एकअर्काका परिपूरक हुन् भन्ने सन्देश दिएको छ ।


















