शिक्षा अहिलेको आवश्यकता- राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका छन्।
नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं जन्मजयन्ती (हीरक महोत्सव) का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘राजनीतिक परिवर्तनपछि मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अवलम्वन गर्दै तीव्र विकासको बाटोतर्फ उन्मुख छ। सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई अघि बढाउन तदनुरुपको शिक्षा दिन आवश्यक छ भन्ने मलाई लाग्छ।’
राष्ट्रपति पौडेलले गुणस्तरीय, प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिई भविष्यमा योग्य र क्षमतावान् व्यक्तिका रूपमा उभिन सक्नेगरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत सबै पक्षले उत्तिकै ध्यान दिनु जरुरी रहेको बताए । उनले अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजार अनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता रहेको बताए ।
राष्ट्रपति पौडेलले जनता शिक्षित भएमा आफ्नो निरंकुश शासनको विरोध गर्लान् भनी जनतालाई शिक्षाबाट बञ्चित गर्न खोज्ने राणा शासन कालमा राजधानीको मुटुमा नेपाल आदर्श विद्यालयको स्थापना हुनु एउटा ऐतिहासिक घट्ना भएको बताए।















