इरानमा १६ जना नेपाली फसे, ११ जनाको उद्धार तयारी
काठमाडौं । इरान–इजरायलबीचको तनावले संवेदनशील बनेको इरानमा १६ जना नेपाली नागरिक फसेका छन्, जसमध्ये ११ जनाको उद्धार तयारी भइरहेको छ । सोमबार प्रतिनिधिसभामा बोल्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यथास्थितिबारे संसदलाई जानकारी दिइन्।
उनका अनुसार मसाद क्षेत्रमा रहेका ११ नेपालीलाई मंगलबार भारतीय विमानमार्फत भारतसम्म ल्याउने तयारी भइरहेको छ। भारतले आफ्ना नागरिक उद्धार गर्ने क्रममा नेपालीलाई समेत समावेश गर्न सहमति जनाएको हो । एक नेपालीको ट्राभल डकुमेन्ट नहुँदा प्रक्रिया केही जटिल भए पनि काम अघि बढिसकेको मन्त्री राणाको भनाइ थियो । तर, समस्या त्यत्तिमा सीमित छैन ।
इरानमा गैरकानुनी रूपमा प्रवेश गरेका पाँच नेपाली हाल जेलमा छन् । उनीहरूको कानुनी प्रक्रिया अगाडि बढाउने प्रयास भइरहेको भए पनि अवैध प्रवासको जटिलता र स्थानीय कानूनले प्रक्रियालाई कठिन बनाएको देखिन्छ। यो घटना कुनै एकपटकको संयोग मात्र होइन। पटक–पटक सरकारले चेतावनी दिए पनि जोखिमपूर्ण र युद्धग्रस्त मुलुकहरूमा गैरकानुनी रूपमा नेपाली पुग्ने क्रम रोकिएको छैन। दलालमार्फत भूमिगत रूपमा वैदेशिक रोजगारीमा जाने चलनले न त रोजगारी सुरक्षित रहन्छ, न त जीवन।