सानिमा बैंकको मुनाफा गत आवको चौथो त्रैमासमा ९२.१३ प्रतिशतले वृद्धि
काठमाडौं। सानिमा बैंक लिमिटेडको वितरणयोग्य मुनाफा गत आवको चौथो त्रैमासमा ९२.१३ प्रतिशतले वृद्धि भई २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम १ अर्ब ४४ करोड रुपैयाँ मात्र थियो। मुनाफामा आएको तीव्र वृद्धिसँगै बैंकको लाभांश वितरण क्षमता पनि उल्लेखनीय रूपमा बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १०.६६ प्रतिशत मात्रै लाभांश दिने अवस्थामा रहेको बैंकले समीक्षा अवधिसम्म भने २०.४७ प्रतिशत लाभांश दिन क्षमता बनाएको छ । बैंकले यो अवधिसम्म २ अर्ब ७१ करोड खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १६.९६ प्रतिशतले बढी हो ।
बैंकले खुद ब्याज आम्दानी पनि २.८२ प्रतिशतले बढाएर ६ अर्ब ३५ करोड पुर्याएको छ । खुद शुल्क तथा कमिशन आम्दानी पनि १ अर्ब १ करोड रुपैयाँबाट बढेर १ अर्ब १९ करोड पुगेको छ । बैंकको रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ । अघिल्लो आवमा १ अर्ब ४४ करोड रहेको रिटेन्ड अर्निङ बढेर २ अर्ब ७८ करोड र रिजर्भ ५ अर्ब ८९ करोडबाट बढेर ६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यस्तै निक्षेप संकलन १३.५६ प्रतिशतले बढेर २ खर्ब २३ करोड र कर्जा प्रवाह १०.६८ प्रतिशतले बढ्दै १ खर्ब ७६ करोड रुपैयाँ पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा अनुपात भने १.७२ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९३९.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.८० गुणा र तरलता अनुपात ३०.९५ प्रतिशत कायम भएको छ ।