तपाईंले छोड्दैमा गर्ल्यामगुर्लुम जाने के हो ? : डा. रिजाल
काठमाडौँ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै ‘राजनीति छोड्दा गर्ल्यामगुर्लुम हुने के छ ?’ भन्दै प्रश्न गरेका छन् । रिजालले केही नेताहरूले आफूले राजनीति छोडेपछि देशै डगमगाउने जस्तो ठान्ने प्रवृत्तिलाई व्यङ्ग्य गरेका हुन् । उनले भने, ‘नेपालमा कुनै दलका नेता भन्नुहुन्छ, मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लुम हुन्छ जस्तो लाग्छ ।
पृथ्वी नै बोकेको जस्तो के छ? त्यस्तो के जाने हो थाहा छैन ।’ केही दिनअघि अध्यक्ष दाहालले आफूले पद छोडेमा ‘सबै गर्ल्यामगुर्लुम ढल्ने हो कि भन्ने लाग्छ’ भन्ने टिप्पणी गरेका थिए । त्यसैलाई प्रतिवाद गर्दै नेता रिजालले राजनीतिक दलहरूमा पुस्तान्तरण नहुने मानसिकता हाबी भएको बताए । उनले भने, ‘पुस्तान्तरण भन्ने कुरा त राजतन्त्रमा मात्रै हुन्छ । राजनीतिमा पुस्तान्तरण हुँदैन, जसले सक्छ त्यसले नेतृत्व लिन्छ ।’ नेता रिजालले नेपाली कांग्रेसकै सन्दर्भमा ‘धुलो, तुवाँलो लागेको छ, पुछ्ने मात्रै काम भयो भने कांग्रेस कांग्रेस जस्तो देखिन्छ’ भन्दै टिप्पणी गरे ।