महाहर्षित साकोसको दोस्रो साधारण सभा सम्पन्न, सदस्य सन्तुष्टि स्तर ८० प्रतिशत माथि राख्ने
काठमाडौं । पुरानो सिनामंगलमा रहेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले एकीकरणपछि दोस्रो साधारण सभा सम्पन्न गरेको छ । संस्थाले यस आर्थिकको सुरुवातमा नै लेखा परीक्षण गरी साधारण सभा सम्पन्न गरेको हो । सहकारी ऐन २०७४ ले सहकारी संघ संस्थाहरुलाई आर्थिक बर्ष सुरु भएको ६ महिनाभित्र बार्षिक साधारण सभा गरिसक्नुपर्ने कानुनी व्यवस्था गरेको भए पनि संस्थाले भने भाद्र महिनाको पहिलो सातामा नै साधारण सभा सम्पन्न गर्न सफल भएको हो । साधारण सभालाई सदस्य केन्द्रीत बनाउने उदेश्यले संस्थाले विगतका बर्षहरुदेखि नै अतिथि र भाषण विहिन बनाउदै लगेको छ । साधारण सभामा शुभकामना मन्तव्य राख्दै संस्थाका सल्लाहकार तथा प्रा.डा.भिमप्रसाद न्यौपानेले पुँजी घरभित्र निर्माण हुने र उक्त पुँजीलाई सहकारी मार्फत एकीकृत गरी आय आर्जनको क्षेत्रमा लगानी गर्न सकिने बताए । उनले पुँजी जो हो, जसले अर्को पुँजी निमार्ण गर्ने भन्दै सहकारी नै पुँजी निर्माणको माध्यम भएको बताए । प्रा. डा. न्यौपानेले सहकारीमार्फत् स सानो बचत संकलन गरी भविष्यमा ठुलो पुँजी निर्माण गर्न सकिने र उक्त पुँजीलाई उत्पादन तथा आयमूलक क्षेत्रमा लगानी गरी रोजगारीका अवसर सृजना गर्न सक्ने धारणा राखे । सभामा तत्कालिन हर्षित साकोसका अध्यक्ष तथा संस्थाका सल्लाहकार खडानन्द ढकालले महाहर्षित सहकारीमा स्थानीयहरुको सहभागिता रहेकाले बचतको सुरक्षामा कुनै शंका नगरी ढुक्क भएर बचत गर्न आग्रह गरे । उनले बचत,शेयर पुँजी,जगेडा कोष, संस्थागत पुँजी, ऋण लगानी र असुलीको अवस्थाले संस्थाको समग्र चित्रण गर्ने भन्दै महाहर्षित साकोसको समग्र अवस्था मजवुद रहेको बताए । संस्थागत पुँजी बलियो रहेकाले सामान्य अवस्थामा संस्था नढल्ने उनको भनाई छ । यो संस्थालाई बैंकको विकल्प बनाइने भन्दै उनले सहकारीमार्फत् नै सदस्यको समृद्धिको यात्रा तय हुने उल्लेख गरे । कुनै समय यस क्षेत्रका वासिन्दाले वित्तीय सेवा लिन बानेश्वरसम्म जानुपर्ने बाध्यता रहेका अवस्थामा सदस्यहरुलाई घरदैलोमा नै वित्तीय सेवा प्रदान गर्न सहकारी स्थापना गरेको साधारण सभामा उनले जानकारी दिए । संस्थाका अध्यक्ष बालकुमार बास्तोलाले मुलुकको आर्थिक, सामाजिक तथा नीतिगत परिपेक्ष्यमा सहकारी क्षेत्रले विभिन्न चुनौतीहरुको सामना गर्नु परेको बताए । अध्यक्ष बास्तोलाले पछिल्लो समय केहि सहकारी संस्थामा देखिएको वित्तीय अपचलन र सदस्यको बचत फिर्ताको समस्याले यो क्षेत्र संवेदनशील र जटिल बन्दै गएको साधारण सभा उल्लेख गरे ।

सभामा उनले सदस्यहरुले दिएको सुझावलाई सञ्चालक समितिले पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाए । सरकारले जारी गरेको निर्देशन र मापदण्डलाई पालना गरी संस्था अगाडि बढेको उनले सभामा बताए । यस बर्ष मात्रै सरकारले सहकारीका लागि ५ वटा नियमनकारी निकाय गठन गरेको भन्दै उनले नियमनले मात्र सहकारी क्षेत्र बलियो नहुने बताए । प्रवर्दन र सम्वर्दनको काम घटेर गएको अवस्थामा सहकारी क्षेत्र कसरी बलियो हुन्छ भन्ने प्रश्न उनको छ । सरकारले पछिल्लो समय ल्याएको ऐन कानुनका साथै संरचनागत व्यवस्थाले अबका दिनमा संस्था सञ्चालनमा पारदर्शिता, वित्तीय अनुशासन,सदस्यप्रतिको दायित्व र विश्वासमा ठुलो फड्को मार्ने उनको भनाई छ । आर्थिक कारोबारमा आएको मन्दी, जनमानसमा ऋण तिर्न सक्ने क्षमतामा आएको ह«ास र बजारको उत्तरचढावले व्यापार व्यवसाय संकटमा पर्दा सहकारी मार्फत् गरिएको लगानी सुरक्षित गर्न समेत गाह«ो भएको अनुभव उनले सभामा सुनाए । कठिन चुनौतीका बाबजुद पनि संस्थालाई संयमताका साथ अगाडि बढाइएको र वित्तीय पारदर्शिता ,सदस्य केन्द्रीत सेवा,जोखिम न्युनिकरणका लागि उच्च व्यवस्थापन र दीर्घकालीन सोचका आधारमा अघि बढेकाले संस्था बलियो बन्दै गएको अध्यक्ष बास्तोलाले सभालाई जानकारी दिए । संस्थाले सम्पत्ति शुद्धिकरण कार्यविधि २०८१ लागु गरी गोएमएलमा दर्ता भई नियामक निकायमा सीमा कारोबार पेश गरिएको र सो अवधिमा कुनै शंकास्पद कारोबार नभेटिएको उनले बताए । संस्थाले सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने उदेश्यले क्युआर, एसएमएस तथा फन्ड ट्रान्सफर जस्ता सेवा प्रदान गर्दै आएको उनले बताए । शेयर पुँजी,नियमित बचत र सेवा शुल्कको माध्यमबाट जगेडा कोषलाई मजवुत बनाउन लागि परेको उनले सभामा जानकारी दिए । संस्थाले सदस्यहरुको हितलाई प्राथमिकतामा राखेर वित्तीय सेवा प्रदान गर्दै आएको र सदस्यहरुको आवश्यकता अनुसार लघु,आपतकालीन,महिला तथा युवा लक्षित ऋण लगानी गर्दै आएको छ । त्यसका साथै सदस्यहरुलाई कृषि,पशुपालन,साना उद्यम र व्यवसायमा संलग्न गराई उनीहरुलाई स्वरोजगार बनाउन सहज रुपमा संस्थाले ऋण लगानी गर्दै आएको छ । समुदायका महिला,युवा र सबै वर्गका व्यक्तिहरुको प्रतिनिधित्व हुने गरी संस्थाले सदस्यता वृद्धि गर्दै लगेको छ । संस्थाले आर्थिक बर्ष २०८१। ८२ को असार मसान्तसम्म शेयर पुँजी ५ करोड ८६ लाख,जगेडा तथा अन्य कोष २ करोड ८० लाख,बचत २३ करोड ४१ लाख, ऋण लगानी २० करोड ६३ लाख गरी कुल सम्पत्ति ३१ करोड माथि रहेको छ । संस्थाले यस आर्थिक बर्षमा शेयर पुँजी ६ करोड,बचत संकलन २५ करोड र ऋण लगानी २६ करोड पु¥याउने लक्ष्य संस्थाको रहेको छ । सदस्य संख्या ७ सय पुर्याई उनीहरुको सन्तुष्टिको स्तरलाई ८० प्रतिशत माथि राख्ने संस्थाको लक्ष्य छ । सभामा लेखा सुपरीवेक्षण सतितिका विनोद पराजुलीले समितिको प्रतिवेदन प्रस्तुत गर्दै ऋण लगानी गर्दा कानुनी र कागजी प्रक्रियाका पुरा गर्नका साथै असुलीमा विशेष ध्यान दिन सुझाव दिएका छन् । साधारण सभामा ८० प्रतिशत सदस्यको उपस्थिति रहेको थियो । साधरण सभापछि महिला सदस्यहरुको लागि संस्थाले तीज विशेष कार्यक्रम समेत आयोजना गरेको थियो ।