आज तीजको अघिल्लो दिन, दर खाएर मनाइँदै
काठमाडौं । हिन्दू परम्परा अनुसार आज तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन मिठा–मिठा परिकार खाएर मनाइने गरिन्छ। हरितालिका तीजको दिन अधिकांश महिलाहरूले व्रत बस्ने भएकाले आज रातिसम्म दर खाएर भोलि व्रत बस्नका लागि ऊर्जा संकलन होस् भन्ने अभिप्रायले आज दर खाने गरिएको हो। परम्परा अनुसार आज दरको रूपमा दही, खीर, मिष्ठान्न लगायतका विशेष परिकारहरू खाने चलन रहीआएको छ।
भोलि हरितालिका तीजमा महिलाहरूले निराहार रही भगवान शिवको पूजा–आराधना गर्दै उपवास बस्ने गर्छन्। तीजमा विवाहित महिलाहरूले आफ्नो दाम्पत्य जीवन सुखमय होस्, पतिको दीर्घायु होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन् भने अविवाहित महिलाहरूले उत्तम वरको प्राप्ति होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन्। परापूर्वकालमा पार्वतीले शिवलाई पतिको रूपमा पाउन कठोर तपस्या गरेकी थिइन् र भगवान शिवलाई पतिको रूपमा पाएकी थिइन्। त्यसैले तीजलाई पावर्तीले भगवान शिवलाई प्राप्त गरेको दिनको स्मरण मनाइने गरिएको मान्यता रहीआएको छ।