दिलेन्द्र बडूलाई राज्य व्यवस्था समितिको सभापति बनाउने तयारी
काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था एवं सुशासन समितिको सभापतिमा सांसद दिलेन्द्र बडूलाई बनाउने तयारी गरेको छ ।
राज्य व्यवस्था समितिको सदस्य रहेका बडूलाई सभापति बनाउन लागिएको हो । स्रोतका अनुसार बडूलाई सभापति बनाउने गरी आन्तरिक छलफल भइरहेको छ । समिति सभापतिको निर्णय गर्नका लागि सभापति शेरबहादुर देउवाले सोमबार विहान स्थगित गरेको बैठक फेरि बोलाएका छन् । शीर्ष पाँच नेताको बैठक दिउँसो बस्नेगरी बोलाइएको छ । दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकका लागि बोलाइएको छ ।
राज्य व्यवस्था समिति सभापतिको लागि सभाममुख देवराज घिमिरेले भदौ ११ गतेको मिति तय गरेपछि सभापति देउवा शीर्ष नेताको बैठक आकस्मिक बोलाएका हुन् ।