कांग्रेस बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग,नैतिकताका आधारमा पदमा बस्दिनँ, राजीनामा दिन्छु
काठमाण्डौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको बैठकमा गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन नेताहरूले माग गरेका हुन्। बैठकको सुरूवातमै महामन्त्री विश्वप्रकाश शर्माले जेनजीको प्रदर्शनमा धेरै मानिसहरूको मृत्यु भएकोले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्। उक्त कुरामा समर्थन जनाउँदै अर्का महामन्त्री गगन थापाले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनु उपयुक्त हुने बताए। ‘सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कुरा स्वीकार गर्न हुँदैनथ्यो, थापाले भने। साथै उनले कांग्रेस र एमाले गठबन्धन सरकारको औचित्य के हो भनेर पनि सोधेका थिए। ‘कांग्रेस र एमाले सरकारको औचित्य के हो ? परि आए गठबन्धन सरकारबाट अलग हुनुपर्छ, महामन्त्री थापाले भने। साथै उनले २०४६ सालपछिका नेताहरू सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिनुपर्ने बताए। ‘यसो भएमा जेनजीले उठाएको भ्रष्टाचारका विषय पनि सम्बोधन हुन्छ, उनले भनेका थिए।
साथै उनले गृहमन्त्री रमेश लेखकलाई पदबाट तुरून्त राजीनामा दिन आग्रह गरेका छन्। ‘गृहमन्त्रीजीले उच्च नैतिकता देखाएर तुरून्तै राजीनामा दिनुपर्छ, महामन्त्री थापाले भने। जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए। काठमाडौं र इटहरीमा गरी अहिलेसम्म १९ जनाको मृत्यु भएको छ। पार्टीका नेताहरूले नैतिकताका आधारमा राजीनामा दिन भनेपछि गृहमन्त्री रमेश लेखक बोलेका थिए। उनले आफू नैतिकताका आधारमा राजीनामा दिने मनस्थितिमा पुगेको बताएका थिए। ‘आजको घटनाले म अत्यन्त दुःखी छु, म नैतिकताका आधारमा पदमा बस्दिनँ, राजीनामा दिन्छु, अहिले बालुवाटारमा क्याबिनेट बैठक चलिरहेको छ, त्यही गएर राजीनामा दिन्छु, गृहमन्त्रीका भनाइ उद्धृत गर्दै बूढानीलकण्ठको बैठकमा सहभागी एक नेताले भने। यसैबीच कांग्रेसले सामाजिक सञ्जाल पुनः सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिनुपर्ने निर्णय कांग्रेसले गरेको छ र यो निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारीसमेत गराइसकिएको छ। सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्न आग्रह गरेका थिए।