भाटभटेनीमा अर्बौको क्षति, आईजीआईमा मात्रै साढे दुई अर्ब बढिको बीमा

काठमाडौं । गत मंगलबार जेनजी आन्दोलनको क्रममा क्षति पुगेको भाटभटेनी सुपरस्टोरमा अर्बौ रुपैयाँको क्षति पुगेको छ । सो क्षति मध्ये करिब साढे दुई अर्ब रुपैयाँको बीमा पोलिसी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा पर्ने प्रारम्भिक अनुमान गरिएको छ । भाटभटेनी सुपरस्टोरका देशैभरिका २८ वटा शाखाहरु मध्ये २१ वटा शाखा कार्यालयको भवन समेतका अर्बौ मूल्यका सामानहरु तोडफोड लुटपाट र आगजनी भएको छ । आईजीआई प्रुडेन्सियलले भाटभटेनीका १६ वटा शाखाको बीमा गरेको छ । १२ वटा शाखामा लुटपाटपछि आगो समेत लगाएर ध्वस्त पारिएको छ भने ९ वटामा तोडफोड र लुटपाट गरिएको कम्पनीका अधिकारी पानु पौडेलले जानकारी दिएका छन् । भाटभटेनीका देशभर छरिएका सात वटा शाखामा मात्र कुनै क्षति पुगेको छैन । देशैभरिका २१ वटा शाखामा क्षति पुग्दा सबैभन्दा धेरै बीमा पोलिसी जारी गर्ने आईजीआई प्रुडेन्सिल इन्स्योरेन्समा सबैभन्दा धेरै बीमा दावी पर्ने देखिएको छ । कम्पनीले भाटभटेनीका साढे दुई अर्ब रुपैयाँ जति बीमा दावी पर्ने प्रारम्भिक रुपमा अनुमान गरिएको छ । भाटभटेनीले फरक फरक बीमा पोलिसी जारी गरेकोले क्षति नभएका ७ वटा शाखा बाहेकका शाखाहरुको बीमा दावी आईजीआई, सलिको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससहितका अन्य कम्पनीमा पर्नेछ । । प्रारम्भिक रुपमा प्राप्त विवरण अनुसार भवन मर्मत सम्हाल र स्टकको क्षति यस पटक मुख्य रुपमा बीमा दावीमा समेटिने छन् । यस पटकको बीमा दावी हूलदंगा तथा आतंकवाद अन्तर्गत पर्नेछ । हुलदंगा तथा आतंकवाद अन्तर्गतको बीमाको ३५ प्रतिशत सम्बन्धित बीमा कम्पनी र ६५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले दावी भुक्तानी गर्नुपर्नेछ व्यवस्था गरिएको छ । सो मध्येमा पनि केही कम्पनीहरुले भने १० करोडसम्म मात्रै पनि राखेर बाँकी पुनर्बीमा गराइएको पाइएको छ ।

उता, कतिपय कम्पनीहरुले आफूले धारण गरेको ३५ प्रतिशत बीमा जोखिम पुनर्बीमा नगराएको समेत हुनसक्ने देखिएको छ । भाटभटेनीको बीमा गराएका एक बीमा कम्पनीका सिईओले भने, ‘पुनर्बीमा कतिपयले गराएका होलान् कतिपयले छैन होला, कतिपयले १० करोड रुपैयाँसम्मको मात्रै जोखिम लिएका होलान्, एउटै छैन फरक फरक अवस्था छ ।’ केही वर्षदेखि नेपालमा हुलदंगा तथा आतंकवादको सम्भावना नै नभएको भन्दै बीमा प्राधिकरणले अनिवार्य गरेको हुलदंगा तथा आतंकवादको अतिरिक्त भार हटाउनु पर्ने भन्दै बीमा कम्पनीहरुले लबिङ गरिरहेका थिए । २०६३ पछि यस्तो शिर्षकमा बीमा दावी परेको थिएन । गत वर्ष तीनकुने घट्नामा कोटेश्वरमा रहेको भाटभटेनीमा लूटपाट भएको थियो । सो क्रममा ८० लाख रूपैयाँको क्षति भएको थियो । भाटभटेनीमा आगोलागी भई व्वस्त भएकोका शाखाहरुमा कोटेश्वर, महाराजगन्ज, बौद्ध, बालुवाटार वयरहाउस, बिराटनगर, धरान, दमक, पोखरा, चितवन, हेटौंडा, विर्तामोड रहेका छन् । त्यस्तै सामान लूटपाट र तोडफोड गरिएको तथा भवन पूर्ण रुपमा क्षति नभएका शाखाहरुमा बालाजु, भैरहवा, कलंकी, ठिमी, जनकपुर, बीरगन्ज, इटहरी, बुटवल र धनगढी रहेका छन् । भाटभटेनीले बार्षिक ३१ अर्ब रुपैयाँ भन्दा बढिको आर्थिक कारोबार गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *