पूर्व प्रधानमन्त्री देउवा र धर्मपत्नी राणामाथि भएको हमलाको सोसलिष्ट इन्टरनेशनद्वारा निन्दा

काठमाडौँ । सोसलिष्ट इन्टरनेशनले नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा. आरजु राणा देउवामाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ ।

विश्वका ८३ देशका ९१ वटा राजनीतिक पार्टी सदस्य रहेको सोसलिष्ट इन्टरनेशनले वक्तव्यमार्फत जेनजेडको प्रदर्शनका क्रममा भदौ २३ गते देउवा दम्पतीलगायत राजनीतिक व्यक्तित्वमाथि भएको भौतिक हिंसाको निन्दा गरेको हो । सोसलिष्ट इन्टरनेशनका अध्यक्ष पेद्रो साञ्चेज पेरेज-कास्तेजोनले वक्तव्य जारी गर्दै उक्त घटनाक्रमबारे चिन्ता व्यक्त गरेका हुन् । प्रदर्शनका क्रममा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोसलिष्ट इन्टरनेशनले प्रजातान्त्रिक व्यवस्थाअनुसार ढिलाइ नगरी शान्तिपूर्ण संवादबाट निकास हुने अपेक्षाका साथ यस चुनौतीपूर्ण क्षणमा आफ्नो सदस्यसमेत रहेको काँग्रेस पार्टीप्रति ऐक्यबद्धता जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *