श्री बाराही साकोसको २६ औं साधारण सभा सम्पन्न

भक्तपुर । भुलाँचामा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले २६ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राधेश्याम सुवालको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि जेष्ठ सदस्य नारांकृष्ण त्यात रहेका थिए । सभामा अतिथिको रुपमा बोल्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले साधारण सभामा सदस्यको कुरा सुनी उनीहरुले दिएको सुझावको आधारमा बर्षभरीको लागि नीति तथा कार्यक्रम बनाउनु पर्ने बताए । अध्यक्ष लाखाजुले साधारण सभा सदस्यहरुको सभा भएकाले भत्ताको लागि नभई बार्षिक नीति तथा कार्यक्रम माथि राय सुझाव दिनको लागि सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिए । सदस्यहरु परिवहन खर्चको लोभले साधारण सभामा आउनु गलत भएको भन्दै उनले सभालाई विशेष प्र्र्र्र्र्राथमिकता दिन सबै सदस्यहरुलाई आग्रह गरे । सभामा संस्थाका अध्यक्ष सुवालले सहकारीका नियामक निकायहरुले दिएको निर्देशनका साथै सल्लाह तथा सुझावको पालना गर्दै संस्था अगाडि बढेको बताए । उनले सहकारीकर्मी समुदायमा आधारित भई समुदायको हितका साथै सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणको लागि लाग्नु पर्ने बताए ।

अध्यक्ष सुवालले सहकारी संस्थाहरुको वर्गिकरण गरी सबै संस्थालाई सहकारी मुल्य, मान्यता र सिद्धान्तमा सञ्चालन गराउनु पर्ने बताए । सदस्यको बचत हिनामिना गर्ने संस्थाबाट पीडित सदस्यहरुको रकम कसरी फिर्ता गराउन सकिन्छ भन्ने कुरामा राज्यको ध्यान जानुपर्ने उनको भनाई छ । सभामा सचिव विष्णु प्रसाद सुवालले वार्षिक प्रगति प्रतिवेदन तथा यस आर्थिक बर्षको योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी कोषाध्यक्ष रत्नकेशरी सुखुपायोले संस्थाको वित्तीय प्रगति प्रतिवेदन र चालु आबको अनुमानित बजेट तथा योजना सभामा प्रस्तुत गरेकी थिइन् । संस्थाको शेयर पुँजी ७ करोड ८३ लाख, साधारण जगेडा कोष ७ करोड ६६ लाख ८७ हजार ,अन्य कोष १ करोड ७३ लाख,बचत संकलन ८२ करोड २७ लाख र ऋण लगानी ४५ करोड ७५ लाख रहेको उनले सभामा जानकारी दिइन् । संस्थामा ५ हजार ८ सय आवद्ध रहेका छन् भने कुल सम्पत्ति १ अर्ब १ करोड ५६ लाख पुगेको छ । एक्सेस ब्रोन्च ब्राण्ड समेत पाइसकेको उक्त संस्थाले सदस्यहरुलाई लाभांश कोषमा रहेको ४७ लाख ७९ हजारबाट नगद लाभांश दिने भएको छ । संस्थाले संरक्षित पुँजी फिर्ता कोषमा २४ लाख ५९ हजार रकम छुट्याएको छ । सभामा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहलाई सम्मान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *