नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

शारदीय नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन शैलपुत्रीको पूजा तथा आराधना गर्ने प्रचलन छ । कथाअनुसार दक्ष प्रजापतिले आयोजना गरेको विशाल यज्ञमा भगवान् शंकर र शतिदेवीलाई निमन्त्रणा दिइएन । बाबुले गरेको यज्ञमा सहभागी हुन चाहनुभएकी शतिदेवीलाई श्रीमहादेवले रोके पनि उनी आफ्ना आमा र बहिनीहरूसँग भेट गर्न भन्दै यज्ञस्थल पुगेकी थिइन् । त्यहाँ उनलाई अपमान गरिएको र महादेवलाई नाना प्रकारले गाली गरिएको सहन नसकी शतिदेवीले यज्ञकुण्डमा आफैँलाई समर्पण गरिन् । यो घटनापछि क्रुद्ध महादेवले आफ्ना गणहरूलाई पठाई यज्ञ पूर्णतः ध्वस्त गरिदिनुभयो । यज्ञकुण्डमा देह त्याग गरेकी शतिदेवीले पुनर्जन्म लिएर हिमालयराजकी छोरीका रूपमा शैलपुत्री नामले परिचित भइन् । शैलपुत्रीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल रहेको चित्रण पाइन्छ ।

पूजाविधि

नवरात्रको पहिलो दिन स्नानादि नित्यकर्मपछि गंगाजल वा गाईको गहुँतले शुद्ध गरी रातो वस्त्र ओछ्याएर शैलपुत्रीको तस्बिर स्थापना गरिन्छ । शुद्ध मन, वचन र कर्मले पूजन सामग्री तयार गरी धान, चामल, जौँ, तिल, कुश, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, फलफूल, पकवान्न, धूप, बत्ति, कपूर, फूलमाला आदि अर्पण गर्ने प्रचलन छ । पूर्व, उत्तर वा पश्चिम फर्केर शुद्ध आसनमा बसेर दियो प्रज्वलन गरी सङ्कल्प उच्चारणसहित ॐ देवी शैलपुत्र्यै नमः मन्त्र ११, २१ वा १०८ पटक जप गर्नुपर्ने शास्त्रीय उल्लेख छ । सङ्कल्पपछि गणेश पूजा गरी वरुण कलशमा ब्रह्माण्डका सम्पूर्ण देवी–देवताहरूको आवाहन गरी कलश पूजन सम्पन्न गरिन्छ । शास्त्रअनुसार शैलपुत्रीको पूजा गर्दा मानसिक शान्ति, पारिवारिक सुख, आध्यात्मिक उन्नति र शक्ति जागृत हुने विश्वास गरिएको छ ।

शैलपुत्री माताको पूजा गर्दा निम्न मन्त्र उच्चारण गर्नुपर्दछ ।

वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्

वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम् ।।

पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा ।

पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता ।।

प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम् ।

कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम् ।।

वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम ।

वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम् ।।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *