निर्वाचनको माहोल बनाउन आयोग र सरकार दुवैले पहल गर्ने

काठमाडौँ । निर्वाचन आयोग र सरकारले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको माहोल बनाउने भएका छन् । मंगलबार आयोगको नेतृत्व र प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षा निकायका प्रमुखबिच भएको छलफलमा आयोग र सरकार दुवैले निर्वाचनको माहोल बनाउन एकअर्कालाई प्रस्ताव गरेका थिए । त्यस क्रममा आयोगले बनाएको निर्वाचन कार्यतालिकाबारे सरकारलाई जानकारी पनि गराएको छ । जवाफमा सरकारले आफ्ना तर्फबाट पनि दलहरूसँग संवाद गर्ने भन्दै कार्यतालिका अनुसार काम अघि बढाउन आग्रह गरेको छ । उक्त छलफलका क्रममा सरकार र आयोग दुवै पक्षले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनका लागि आआफ्नो तर्फबाट पहल गर्नुपर्नेमा जोड दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘तोकिएकै समयमा निर्वाचन गर्नुपर्छ । त्यसका लागि सबैले भूमिका खेल्नुपर्छ भनेर दुवैतर्फबाट कुराकानी भए,’ भट्टराईले भने, ‘त्यस क्रममा निर्वाचनका लागि आवस्यक लजिष्टिकका विषयमा पनि कुराकानी भए ।’ यसैबिच आयोगले दलहरूसहित सरोकारवालाहरूसँग निर्वाचनबारे छलफल थाल्ने भएको छ । ‘दलहरूसहित सरोकारवाला सबैसँग आयोगले थाल्छ । त्यो तिहारअघि गर्ने कि पछिबाट भन्नेबारे कुराकानी भइरहेको छ, त्यसका लागि आयोगले एउटा मापदण्ड बनाएर एकैपटक गर्ने कि अलग अलग भन्ने टुंगो लगाउँछ,’ प्रवक्ता भट्टराईले भने, ‘सबैको सामूहिक प्रयास आवश्यक छ ।’ निर्वाचन गर्न स्रोतको आकलन गर्दा २०७९ लाई नै आधार मानेर गर्ने तर खर्चमा मितव्ययिता गर्ने सरकार र आयोगबिच कुराकानी भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *