एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टी एकताबारे छलफल हुने
काठमाडौँ । पार्टी एकता, निर्वाचन लगायतका विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार बस्दैछ । शुक्रबार सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बस्न लागेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । बैठक ११ बजेपछि बस्दैछ । उनका अनुसार पहिलो दिनको बैठकमा केही नेताहरूले पछिल्लो राजनीतिक अवस्थाको रिपोर्टिङ मात्र गरेको र आज ती विषयहरूमा छलफल गरेर निर्णयमा पुग्ने तयारी छ । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिको अलावा निर्वाचनको कार्ययोजना, पार्टी एकतासम्बन्धी रिपोर्टिङ र सङ्गठनात्मक सवालमा छलफल हुनेछ । सङ्गठनात्मक सवालमा केन्द्रीय कमिटीको बैठक र एजेन्डाका विषयमा पनि निर्णय गर्ने तयारी छ । निर्वाचनसम्बन्धि तयारी र कार्ययोजना बनाउन सो पार्टीले महासचिव घनश्याम भुसालको नेतृत्वमा कार्यदल बनाएको थियो । शुक्रबारको बैठकमा नेता बेदुराम भुसालले एकताबारे सामान्य रिपोर्टिङ गरेका थिए ।
उनको रिपोर्टिङमा माओवादीसँग एकता गर्न सैद्धान्तिक र कार्य क्रमिक रूपमा कुनै समस्या नरहेपनि सांगठानिक विषयमा थप गृहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएको एक सचिवालय सदस्यले जानकारी दिए । पछिल्लो समय एकीकृत समाजवादी, माओवादी, नेकपा र नेसपा लगायतका पार्टीसँग एकताका तीव्र छलफल अघि बढेको छ । उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी एकताका लागि सकारात्मक छलफलहरू भइरहेको बताए । ‘समाजवादी मोर्चामा रहेका दलहरूबिच पार्टी एकताका लागि छलफल भइरहेको छ’, खतिवडाले भने, ‘सम्मानजनक र समानताका आधारमा एकता हुनुपर्छ भन्ने छ ।’ उनले पार्टीका नाम र चुनाव चिह्नका सवालमा समेत कुनै विवाद नरहेको बताए । ‘नेकपा एकीकृत समाजवादीका सबै नेता कार्यकर्ता एकीकरणको प्रवाहमा सामेल हुनेछन्’, खतिवडाले भने, ‘अहिले आन्तरिक रूपमा विचार विमर्श गर्ने क्रममा सबैको सकारात्मक सोच देखिएको छ । उनले एकताका क्रममा एकले अर्कोलाई निल्ने नभई मिल्नेबारेमा छलफल भइरहेको बताए । ‘निल्ने नभई मिल्ने कुरा भइरहेको छ । नयाँ नाम र नयाँ चुनाव चिह्नमा गएर भएपनि कम्युनिस्टहरू एक ठाउमा उभिनुपर्छ भन्ने पवित्र भावनाले काम भइरहेको छ’, खतिवडाको भनाइ छ । स्रोतका अनुसार पार्टी एकता गर्दा सांगठानिक सवालमा एकीकृत पार्टीमा दुई अध्यक्ष वा अध्यक्ष अथवा उपाध्यक्षसहित सचिवालय राखेर जान सकिने विकल्पबारे नेताहरूबिच अनौपचारिक छलफल भइरहेको छ ।