आसिफको अर्धशतकमा यूएईविरुद्ध १४१ रनको लक्ष्य

काठमाडौं । ओपनर आसिफ सेखको अर्धशतकमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल खडा गर्‍यो । नेपालका ओपनर आसिफले ५१ रनको अर्धशतकीय इनिङ खेले । आसिफले ४७ बलमा चार चौका र एक छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो नवौँ अर्धशतक हो । यस्तै, अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा दुई चौका र दुई छक्कासहित २८ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ५६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर, मध्यक्रमका ब्याटरले आशाअनुसारको प्रदर्शन नगर्दा नेपाल ठूलो योगफलसम्म पुग्न सकेन ।

आसिफ र भुर्तेलबाहेक, कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले पाँच बलमा १४ रन जोडे । यूएईका जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौसिक र ध्रुव परासरले समान एक विकेट लिए । प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यसैकारण आज नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यूएई पनि समूह चरणका दुवै खेलमा जितसहित सुपर–६ मा आएको हो । समूह ‘ए’मा यूएईले कतारलाई सात विकेटले हराएको थियो । यूएईले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्रतिस्पर्धा गर्ने टिममा यूएईसँगै कतार, ओमान र समाओ छन् । नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन । सुपर–६ मा नेपालले यी चार टिमविरुद्ध ‘सिंगल राउन्ड रोबिन’ पद्धतिअनुसार प्रतिस्पर्धा गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *