संकटमा लोकतन्त्रवादी एकै ठाउँमा उभिनु पर्छ : मुख्यमन्त्री बानियाँ
काठमाडौं । भक्तपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताएका छन् । उनले गरिब, मजदुर, किसानलगायत सबै जनताको रगतबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे । यसविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने उनले बताएका हुन् ।
हाल ‘जेनजी’ आन्दोलनका क्रममा भएको वितण्डालाई भविष्यमा दोहोरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सबै सुध्रनुपर्नेमा उनले जोड दिए । उनले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न सके कोही पनि डराउनु नपर्ने बताए । मुख्यमन्त्री बानियाँले संकटमा लोकतन्त्रवादी एकै ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरे । कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्रलाई बलियो बनाउन फरक विचार भएका दल एकै ठाउँ आउनुपरेको बताए । उनले कांग्रेसलाई एकताबद्ध बनाउँदै अघि बढनुपर्ने वर्तमान आवश्यकता रहेको टिप्पणी गरे । थापाले आफू भक्तपुर जिल्लाको सभापति दुईपटक भएको उल्लेख गरे । विधान संशोधन गरेर भए पनि तेस्रोपटक सभापति बन्नुपर्ने अवस्था देखिएको उनको भनाइ थियो । अधिवेशनको एक दिन मात्र जिल्लामा आउने व्यक्तिलाई सभापतिको जिम्मेवारी दिन नसकिने उनले बताए ।