नेपाली कम्युनिस्ट पार्टी दल दर्ताका लागि आयोग जाने तयारीमा

काठमाडौँ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत विभिन्न १० वटा कम्युनिस्ट घटक मिलेर गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा जाने भएको छ । दल दर्ताका लागि आवश्यक डकुमेन्ट तयार पारेर सकेसम्म आजै शुक्रवार नभए आइतबारसम्म आयोग जाने तयारी भइरहेको तत्कालीन नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता रामकुमार भट्टराईले जानकारी दिए । त्यसका लागि नेताहरूलाई हस्ताक्षर गर्न पार्टी कार्यालयमा बोलाइएको भट्टराईले बताए । ‘आवश्यक डकुमेन्ट तयार गर्ने काम भइरहेको छ । नेताहरूलाई हस्ताक्षरका लागि शुक्रवार बोलाइएको छ । सबै डकुमेन्ट पुरा भयो भने आजै आयोग जाने कि भन्ने छ, भट्टराईले भने, ‘आज भ्याइएन भने आइतबार जान्छौँ । निर्वाचन आयोगले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भाग लिने नयाँ दलहरूलाई यही कात्तिक ३० गतेभित्र आयोगमा दल दर्ता गरिसक्न सूचना जारी गरेको थियो ।

यसअघि कात्तिक १९ गते बुधवार नै घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले यो नामको दल दर्ता हुँदैछ भनेर आयोगलाई सामान्य जानकारीमात्र गराएको नेताहरूले बताएका छन् । नवगठित पार्टीमा संयोजक र सहसंयोजक रहने, चुनाव चिह्न पाँचकुने तारा रहने सहमति भएपनि केन्द्रीय कमिटी कति रहने भन्ने एकतामा सामेल भएका पार्टीका केन्द्रीय सदस्यहरूको सङ्ख्या हिसाब गरेर आयोगमा बुझाउनुपर्ने छ । ‘धेरै दल एकतामा जोडिएका छन् । तिनको कसको कति केन्द्रीय समिति छ त्यो हिसाब गरेर सबै सङ्ख्या निकाल्नुपर्ने हुन्छ, नेता बेदुराम भुसालले भने, ‘अरू दल पनि थपिन्छन् कि भन्ने छ । त्यसैले भ्याएसम्म चाँडो आयोग जाने कुरा पनि भइरहेको छ । नेताहरुका अनुसार सबै दलका केन्द्रीय सदस्य जोड्दा एकीकृत पार्टीमा १५ सय बढी केन्द्रीय सदस्य हुनसक्ने सम्भावना छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी,नेकपा (समाजवादी), नेकपाको चिरन पुन समूह, नेकपा (समाजवादी माओवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चा लगायत राजनीतिक पार्टी र समूह एकीकृत हुँदै कात्तिक १९ गते बुधवार ‘नेपाली कम्युनिस्ट पार्टीका रूपमा रूपान्तरण भएको घोषणा गरिएको थियो । दल दर्ताका लागि निवेदन दिएर केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको नेताहरूले पहिलो बैठकबाट सचिवालय गठन र विधान लगायत आवश्यक गृहकार्य गर्न एउटा छुट्टै कार्यदल बनाउने तयारी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *