यी हुन् सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा समूह,वस्तु व्यापारतर्फ भाटभटेनी

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा बढी कर तिर्ने विभिन्न १६ कम्पनी तथा व्यक्तिलाई सोमबार सम्मान गरेको छ । कर दिवसको अवसरमा काठमाडौंमा भएको विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्मानित व्यक्ति तथा कम्पनीका प्रतिनिधिलाई सम्मान गरेका थिए । वस्तु व्यापारतर्फ लगातार चार वर्षदेखि बढी कर तिर्नेको सूचीमा भाटभटेनी परेको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई अर्थमन्त्री खनालले प्रमाणपत्र, दोसल्लासहित सम्मान गरेका हुन् । व्यक्तिगततर्फ राजबहादुर शाहले सबैभन्दा बढी कर तिरेका छन् । उनलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सरकारी स्वामित्वको दूरसञ्चार प्राधिकरण रहेको छ । एकलौटी फर्महरुमध्ये थर्ड आई इन्टरनेशनल, वस्तु निर्माणको कारोबारमा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालिलाई पनि सम्मान गरिएको छ । सूचना प्रविधिमा बढी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रालि रहेको छ भने कृषि एवम् पशु पंक्षीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म प्रालि रहेको छ ।

बैंकतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्येमा नोबेल मेडिकल कलेज टिचिङ अस्पताल परेको छ । पर्यटन व्यवसायमा सोल्टी होटल रहेको छ । विशेष समारोहमा वार्षिक कारोबार रकम ५० करोड रुपैयाँभन्दा बढी र सय करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएस एन्ड क्लियिरिङ हाउसलाई सम्मान गरिएको थियो । रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमा आईएमई समूह रहेको थियो ।

विशेष उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा युनिलिभर नेपाल लिमटेड रहेको छ । सम्मानित भएकामध्येबाट सम्बोधन गर्दै मिनबहादुर गुरुङले भ्याट लागु हुँदा सबैभन्दा बढी खुसी पनि आफु भएको बताउँदै तर विगतका केही वर्षमा नक्कली भ्याट बिलको आरोपमा आफूलाई दुःख दिइएको बताए । उनले जेनजी आन्दोलनका क्रममा भाटभटेनीका विभिन्न स्थानमा रहेका १२ वटा स्टोर जलेर ध्वस्त भएको, कैयौँमा तोडफोड र लुटपाट भएको पनि यसलाई आफूले ‘स्वीट पेन’का रुपमा लिएर अघि बढेको बताए । व्यवसायीलाई मनोबल नगिराउन अनुरोध गर्दै उनले जेनजीको आन्दोलनका क्रममा भाटभटेनीमाथि कुनै अमूक राजनीतिक दलको भवन बनाइदिने प्रतिबद्धता जनाएकै भरमा आक्रमणमा परेको अहिले सुन्नुपरेको बताए । “राजनीतिक सुधार हुनुपर्‍यो, उनले भने, “हामीले अन्य दललाई पनि सहयोग गरेका छौँ । कर तिरेर बाँकी रहेको रकमबाट सहयोग गरेका हौँ । भगवान कोइरालाको नेतृत्वमा रहेको अस्पताललाई सहयोग गरेका छौँ । विभिन्न जिल्लाका विद्यार्थीलाई एमबीबीएस सम्मको अध्ययन गराएको छु । त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन बनाइदिएका छौँ । यो सबै राष्ट्रका लागि गरेको काम हो । कसैबाट कुनै कुराको आशा भएर गरेको होइन दायित्व सम्झेर गरेको हो । मैले कसैसँग केही फाइदा लिन्न । सप्लायर्सले गरेको गल्तीका कारण आफूलाई कारबाही गरिएको बताउँदै उनले भने, “हामीलाई आपूर्ति गर्ने कम्पनीबाट सामान लिएको । सामान लिएर मैले भ्याट र करको दायित्व पूरा गरेको हो । त्यसपछि भाटभटेनीलाई नक्कली भ्याट बिलको बिल्ला लगाइयो । त्यो बिल्ला अहिलेसम्म लगाइएको छ । हामीले ८०–८१ मा पूरा गर्‍यौँ । हामीले जरिबानासहित तिर्न बाध्य भयौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *