राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापनपत्र, जेनजीका माग पुरा नगर्ने भए प्रधानमन्त्रीलाई फिर्ता गरौँ
काठमाडौँ । विभिन्न २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीलगायतका अपेक्षा गरिए पनि सरकार चुनावमा मात्र केन्द्रीत भएको गुनासो छ । उनीहरुले जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने भन्दै दिशाहीन बनेको सरकारले आफ्ना माग पुरा गर्न नसके तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउन समेत माग गरेका छन् । ‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन’, राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र सहिद परिवारका माग यो सरकारले तत्काल सम्बोधन गर्नुपर्छ ।’ राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउनेमा जेनजी नेशनल फ्रन्ट लाइनर,जेनजी स्पार्क,एनटेक जेनजी,ऋणी एसोसिएसन,जेनजी वाई युनाइटेडलगायत रहेका छन् ।
















