नागरिकमा चेतना जाग्नु जरुरी
नेपालको नियति यस्तो हुनुमा यहाँको व्यवस्था खराब भएर अथवा शासक वर्ग भ्रष्ट भएर मात्र होइन । न त राजनीतिक दल र नेताहरू बदमास भएर नै हो । नेता खराब हुनुमा, शासक प्रशासक भ्रष्ट र व्यभिचारी हुनुमा हामी जनता नै दोषी छौँ । नेपाली जनता अहिले यति पूर्वाग्रही छन् ,अन्धताले ग्रस्त छन् । कि तिनले सत्यलाई पारख गर्ने क्षमता नै गुमाइसकेका छन् । जबसम्म जनतामा असली अर्थमा चेतना जागृत हुँदैन तबसम्म कुनै पनि परिवर्तनको अपेक्षा व्यर्थ हुन्छ । पञ्चायतकलामा बेहोर्ने पुस्ता अझै जीवित छ । राणा शासन भोग्ने त अब लगभग गुज्रेर गइसके । पञ्चायत र पञ्चायतपछिका साँढे तिन दशकमा जति पनि अनहोनी भएको छ ,त्यो जनताकै अचेतन र असावधानीले भएको छ । राष्ट्रघाती र जनघात गर्ने नेताहरूलाई विश्वास गर्ने नेपाली जनताकै कारण अनेक सङ्कटको सामना गर्नुपर्ने बाध्यता आइलागेको तथ्यलाई बिर्सनु बुद्धिमानी होइन ।
विगतदेखि नै गलत प्रचारको प्रभावमा परेर जनताले जुन भुल गरे त्यसले तिनलाई बारम्बार पछुताउन बाध्य पारेको छ । त्यसको ज्वलन्त उदाहरण काठमाडौँ महानगरपालिकाको यस अघिको निर्वाचन हो । केशव स्थापित जस्तो विकास प्रेमी र सिर्जना सिंह जस्तो शालीन, जनप्रिय र निस्वार्थ सेवा भाव भएकी उम्मेदवारलाई लत्त्याएर स्टन्टबाजी गर्ने, रहस्यमयी स्वभाव भएका र जनचाहना नबुझेका बालेन्द्र साहलाई रोज्दाको परिणाम के भयो रु जनताको घरबारी उडे,रोजगारी गुम्यो,अत्यन्त न्यून पुँजी खर्च गरेर स्वरोजगार भएकाहरू लुटिए र राजधानीमा आएर व्यवसाय गर्न पाइँदैन भनेर अघोषित प्रतिबन्ध नै लगाइयो । स्कुल,कलेज भत्काइए, डोको बोक्ने, नाङ्लोमा पसल थाप्ने,अपाङ, गरिब निमुखाप्रति गरिएको अपराधले पीडितहरूको क्रन्दनलाई समेत बेवास्ता गर्दै अहिले बालेन्द्रलाई झापा लगेर जयजयकार गरिदैंछ । त्यस्तै प्रकृतिको अपराध गर्ने रवि गुट र रास्वपा प्रति सामाजिक सञ्जालले बनाएको माहौल देश र जनताका लागी घातक छ ।
यदि नेपालको स्वतन्त्रता अक्षुण्ण राख्ने हो,जनतामाथि दुर्दृष्टि न्याय गर्ने हो भने नेपाली जनता निद्राबाट ब्युँझन पर्ने अवस्था आएको छ । रवि र बालेनले गरेका राष्ट्रघाती जन घाती कामलाई मुक्तकण्ठले प्रशंसा पनि गर्ने, त्यसलाई साथ सर्पोट पनि गर्ने अनि देशमा न्याय र सुशासनको अपेक्षा पनि गर्ने । यो कसरी सम्भव हुन्छ । विगतमा काँग्रेस एमालेले पनि राष्ट्र र जनताको विरुद्ध अनेक दुष्कर्म गरे तर ती दल र तिनका नेता अपराधी नै चाही थिएनन् । काँग्रेस एमाले र माओवादी समेतका दलले विदेशी गुप्तचर संस्थाबाट तालिमै लिएका चाहिँ थिएनन् । संसदभवनमा भएको किशोर किशोरीको आम हत्या रवि एन्ड कम्पनीको सुनियोजित कार्यक्रम अन्तर्गतको एउटा घटना हो । अब यस्तो सैयौं घटना गराइन्छ र देशलाई युक्रेन बनाइन्छ । त्यसलाई रोक्न नेपाली जनताले वास्तविकता बुझ्नु जरुरी छ । यदि अहिले नै षडयन्त्रकारीहरूको षडयन्त्र बुझिएन भने पछि ढिलो भइसक्छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर सिर्जना गरेको आतङ्कलाई चिर्न सबै राजनीतिक दलका नेता ,सामाजिक अगुवा,बौद्धिक वर्ग दृढतापूर्वक लाग्यो भने मात्र त्यो षडयन्त्रलाई माथ गर्न सम्भव छ ।
















