लामिछानेलाई थमाइयो चैत १५ को अदालती तारिख
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले आउँदो चैत १५ गतेको तारिख थमाएको छ । लामिछाने मंगलबार कार्यालय समय सकिनुभन्दा केही समयअघि आफ्ना सहयोगीसहित अदालतमा उपस्थित भएका थिए । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्वन्धी मुद्दामा उनी अदालतमा उपस्थित भएका हुन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले अदालतमा उपस्थित भएका लामिछानेलाई आउँदो चैत १५ गतेको साधारण तारिख दिएर पठाइएको बताए । उहाँ (लामिछाने) लाई अदालतले २०८२ चैत १५ को तारिख दिएको छ, श्रेष्ठले भने, त्यस दिन पनि साधारण तारिखमा उहाँ उपस्थित हुनुपर्छ । मुद्दामा सुनुवाइ हुँदैन । लामिछाने आजै चितवनबाट काठमाडौं आएका थिए । उनी चुनावी प्रचारकै व्यस्तताकाबीच मुद्दाको तारिख लिन काठमाडौं आएका हुन् । उक्त मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले यसअघि ६० लाख धरौटीमा मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा लामिछानेसहित गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशी बञ्जाडे, स्वर्णलक्ष्मी सहकारीका तत्कालीन अध्यक्ष जीबी राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हेमन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामासहित ३९ जनाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा सजायको मागदाबी गरिएको छ । लामिछानेविरुद्ध गोर्खा मिडियाको तत्कालीन सञ्चालक समिति सदस्यको हैसियतमा मुद्दा चलेको थियो ।
















