शुभकामना साकोसलाई ‘संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त
भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्नको लागि इजाजत पाएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्नको लागि ‘संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको हो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले इजाजतपत्र प्राप्त गरेको हो । संस्थाको इजाजतपत्र नं. २०५७ –००६६५ रहेको छ । सहकारी विभागमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र भक्तपुर जिल्लाभर रहेको छ । संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको फागुनसम्म वित्तीय विवरण अनुसार शेयर पुँजी ११ करोड ८४ लाख ९४ हजार, जगेडा कोष १७ करोड ३९ लाख १० हजार, संस्थागत पुँजी १७ करोड ५३ लाख र अन्य कोषहरु ४३ लाख माथि रहेको छ । संस्थाले १ अर्ब ४७ करोड १७ लाख बचत संकलन गरी १ अर्ब १४ करोड ऋण लगानी गरेको छ । १० हजार १२४ सदस्य र १ हजार २४८ बाल बचत कर्ता रहेको संस्थाको कुल सम्पत्ति १ अर्ब ८८ करोड ६९ लाख पुगेको छ । संस्थामा ४९ करोड माथि तरलता रहेको छ । मुलुकको राजनीतिक अस्थिरता र अर्थतन्त्रमा आएको मन्दीका कारण संस्थाहरुको ऋण लगानी बढ्न सकेको छैन । संस्थाले ८ प्रतिशतदेखि बढीमा १२ प्रतिशत ब्याजदरमा सदस्यहरुलाई ऋण लगानी गर्र्दै आएको छ । सदस्यर्ला वित्तीय सेवाका साथै अन्य सेवाहरु समेत संस्थाले प्रदान गर्दै आएको छ ।
















