म राजनीतिमा जनताको सेवा गर्न आएको हुँ, शासक बन्न होइन : मुख्यमन्त्री बानियाँ
काठमाडौं । जनजाती कल्याण आश्रम नेपाल अन्तर्गत ‘आमाको माया छात्रावास’ बागमती प्रदेशद्वारा आयोजित १६औँ वार्षिक उत्सव २०८३ भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा राजनीतिक नेतृत्व, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मानव सेवा नै साँचो धर्म भएको बताएका छन्। उनले सत्यमा आधारित कर्मलाई धर्मको रूपमा व्याख्या गर्दै असत्य, भ्रम र झुटमा आधारित कार्यलाई कुकर्मको संज्ञा दिए । “सत्य नै धर्म हो, र सत्य भनेकै मानव सेवा हो,” “गरिब, असहाय, निमुखा तथा अभिभावकविहीन व्यक्तिहरूको सेवा गर्नु नै मानव जातिको मूल धर्म हो।” कार्यक्रममा सभाध्यक्ष प्रमोद अग्रवाल चौधरी, धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल, भारतबाट आएका अतिथिहरू लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले सनातन दर्शन, परम्परा र संस्कृतिको जगेर्नामा संस्थाले खेलेको भूमिकालाई प्रशंसा गरेका थिए। मुख्यमन्त्री बानियाँले बागमती प्रदेशलाई कला, संस्कृति, धर्म र प्राचीन सभ्यताको केन्द्रका रूपमा उल्लेख गर्दै यसलाई ‘देवभूमि’ र ‘तपोभूमि’ को संज्ञा दिए। उनले “सत्यम्, शिवम्, सुन्दरम्” को दर्शनलाई जीवन दर्शनको आधार मान्दै सत्य, मर्यादा र लीलाको व्याख्या क्रमशः शिव, राम र कृष्णसँग जोडिने बताए। “असत्य र अधर्म जतिसुकै शक्तिशाली भए पनि अन्ततः सत्यकै विजय हुन्छ,” उनले भने, “यही नै हाम्रो सनातन दर्शन र मूल धर्म हो।”
नेपालभर ११ वटा छात्रावास सञ्चालनमा रहेको जानकारी दिँदै उनले बागमती प्रदेशभित्र काठमाडौं, चितवन, दोलखा, नुवाकोट र धादिङमा पाँच वटा छात्रावास सञ्चालनमा रहेको बताए। उनले संस्थाले जातीय सीमाभन्दा माथि उठेर सबै गरिब तथा अभिभावकविहीन बालबालिकाको संरक्षण र शिक्षामा योगदान पुर्याइरहेको उल्लेख गरे। मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार सामाजिक संस्थासँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै प्रदेशका १३ जिल्ला र १०९ स्थानीय तहसँग मिलेर यस्ता अभियानलाई अझ सुदृढ गरिने प्रतिबद्धता व्यक्त गरे। संघीय शासन व्यवस्थाबारे स्पष्ट पार्दै उनले “संघ नीति, प्रदेश विकास र स्थानीय तह सेवा” भएको उल्लेख गरे। साथै आफू मुख्यमन्त्री भएपछि घोषणा गरेका गरिबमुखी, न्यायमुखी, विकासमुखी, गाउँमुखी र जनमुखी संकल्पअनुसार काम भइरहेको जानकारी दिए। सामाजिक न्याय र अवसर विस्तारका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले बताए। विपन्न तथा अल्पसंख्यक समुदायका छात्राहरूलाई निःशुल्क नर्सिङ शिक्षा दिने कार्यक्रम सुरु भइसकेको जानकारी दिँदै उनले आगामी दिनमा मेडिकल, भेटेरिनरी र आयुर्वेदिक अध्ययन पनि निःशुल्क गराउने योजना रहेको बताए। त्यस्तै, स्वास्थ्य क्षेत्रमा सुधार गर्दै १३ वटै जिल्लामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरिएको उल्लेख गर्दै उनले क्यान्सरका बिरामीहरूका लागि संघीय सरकारले प्रदान गर्ने १ लाख रुपैयाँ सहयोगसँगै बागमती प्रदेश सरकारले थप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको जानकारी दिए। उनले अझ विपन्न बिरामीहरूको हकमा उक्त रकमभन्दा माथिको उपचार खर्च समेत प्रदेश सरकारले सिधै अस्पतालमा व्यहोर्ने व्यवस्था गर्न लागिएको बताए। गरिब तथा विपन्न परिवारका लागि हजार घर निर्माण गर्ने कार्यक्रम पनि कार्यान्वयनको चरणमा रहेको उनले बताए। म राजनीतिमा जनताको सेवा गर्न आएको हुँ, शासक बन्न होइन । राज्यबाट पाउने सेवा–सुविधा समेत विपन्न परिवारको घर निर्माण गर्न प्रयोग गरिरहेको छु।
















