पाँचथरको याङवरकमा बाढीपहिरो
पाँचथर । पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति पुर्याएको छ । रातिको समया आएको बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा घरमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । ओयाम बजार छेउमा पहिरो झरेको छ । फलैचा र च्याङथापुका विभिन्न ठाउँमा खेत बगाएको स्थानीले खबर गरेका छन् । च्याङथापुमा दुईवटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको छ ।
पाँचथरबाट ताप्लेजुङ तर्फ जानेबाटोको इन्द्रावती खोलाको पुलमा क्षति पुगेको छ । यस्तै तमोर करिडोरको निर्माणधीन लिम्बुनी पुलमा पनि क्षति पुगेको छ । छिमेकी जिल्ला ताप्लेजुङको सिदिङबामा पनि बाढीपहिरोले क्षति गरेको स्थानीयले बताएका छन् । कावेली तथा तमोर नदीमा बाढी आएको छ । बाढी र पहिरोले सडक, पुल, खेतीबालीमा क्षति भएको खबर आएकाले विवरण संकलनको काम भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपीअनिश कर्णले जानकारी दिए ।














