राष्ट्रविरोधी अभिव्यक्ति दिने वालेन्द्र साह प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : झलनाथ खनाल
काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वालेन्द्र साह प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका छन् । खनालले प्रधानमन्त्री शाहले राष्ट्रविरोधी अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यस्तो व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका हुन् । प्रधानमन्त्री शाहले ‘नेपालले भारतको जग्गा मिचेको छ’ भनि दिएको अभिव्यक्ति खतरनाक, अत्यन्त गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी भएको खनालको भनाइ छ । ‘उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको हो ?’, खनालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उक्त अभिव्यक्तिले देशभित्र र बाहिर रहेका तीन करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको छ । राष्ट्रविरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन ।’ उनले यो विषयमा प्रधानमन्त्री साहले माफी नमागेसम्म विरोध र भर्त्सना गर्न सबैलाई आग्रहसमेत गरेका छन् । त्यस्तै, यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन उनको माग छ ।














