काठमाडौं महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाको आइतबार सञ्चालित छात्रावृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको हो । उक्त छात्रवृत्ति महानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३।०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि भएको महानगरपालिकाले जनाएको छ ।
नतिजा अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड (मोबाइल÷इमेलमा प्राप्त) राखी हेर्न सकिने व्यवस्था मिलाइएको छ । महानगरका शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालले प्रारम्भिक नतिजा भएकाले नतिजामा चित्त नबुझे जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिने जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा उच्चतम अङ्क प्राप्त गर्ने एक जना विद्यार्थीले ९२ अङ्क प्राप्त गरेका छन् । यस्तै, दोस्रो उच्चतम प्राप्त गर्ने एक जना विद्यार्थीले ९१ अङ्क र तेस्रोमा पाँच जना विद्यार्थीले ९० अङ्क पाएका छन् । प्रकाशित नतिजामा चित्त नबुझेमा एक हजार रुपैयाँ राजस्व दाखिला गरेर प्रवेश पत्रको प्रतिलिपिसहित जेठ २० गतेभित्र शिक्षा विभागमा निवेदन दिन सकिने महानगरले जनाएको छ ।














