करको बोझले थिचिएका जनता !

नयाँ राजनीतिक दल ले सरकार बनाएपछि पहिलो पटक ल्याइएको बजेटले त्यो दलको अनुहारलाई उदाङ्ग पारेको छ । नेपाल र नेपाली जनताका लागी लामो लडाई लडेका राजनीतिक दलहरूको निष्ठा प्रतिबद्धता र नियतमाथि बारम्बार प्रश्न उठाउँदै सोसल मिडियाको चरम दुरुपयोगबाट सत्तामा पुगेको नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनतामा रहेको विश्वास र भरोसा भने अब टुटेको छ । सरकार गठन भएको दुई महिना नबित्दै दुई खर्बभन्दा बढी वैदेशिक ऋण लिएर चरम दुरुपयोग गरेको सरकारले ल्याएको बजेटले भने जनताको ढाड सेकेको छ । गरिब,विपन्न र कमजोर आय स्तर भएका जनतालाई बजेट आउनु अघि नै बाच्नै नसक्ने अवस्था सिर्जना गरिएको थियो । बालेन्द्र साह नेतृत्वमा सरकार बनेयता महँगीले आकाश छोएको छ । इन्धन, खाद्यान्न,तरकारीका साथै दैनिक उपभोगका सबै सामाग्रीमा तीन गुणा मूल्यवृद्धि भयो । सार्वजनिक यातायातमा डबल वृद्धि भएको छ । सरकारले यसको कारण इरान अमेरिका युद्ध बताएको छ । युद्धको प्रभावले यस्तो भएको हो भने भारत,बङ्गलादेश,भुटान,श्रीलङ्का,पाकिस्तान समेतका हाम्रा छिमेकी मित्र राष्ट्रलाई पनि त्यसले असर गर्नुपर्ने हो तर ती देशमा सामान्य मूल्यवृद्धि पनि भएको छैन । नेपाललाई विकास गर्न बाधा पुर्‍याएको भनिएको भ्रष्टाचार आज पनि उत्तिकै छ । भ्रष्टाचार नियन्त्रण गर्ने बाचा गरेर,बेथिति,विसङ्गतिलाई देखाएर त्यसको विरुद्ध प्रभावकारी कदम चाल्ने बाचा गरी चुनाव जितेको रास्वपाले अहिले आफूले के बाचा गरेर आएको भन्ने समेत बिर्सिएको छ । नियम,कानुन र संविधानलाई समेत च्यातेर जथाभाबी आफ्ना मान्छे भर्ती गर्ने अभियान चलाएको वर्तमान सरकारले छोटो कार्यकालमै विश्व रेकर्ड राख्न सफल भएको छ ।

परम्परा पूर्व अभ्यासबाट प्राप्त अनुभवलाई केही नठान्ने सरकारले संस्थागत र कानुनको दुरुपयोग गरी मनपरितन्त्रलाई बढवा दिइरहेको छ । बजेट निर्माण गर्दा नै घरायसी प्रयोजनका लागी प्रयोग हुने बिजुलीमा भ्याट लगाउने स्वास्थ्य उपचार र विद्यालय शिक्षाको शुल्कमा ट्याक्स लगाउने लगायतका गरिबको ढाड सेक्ने करको बोझ थोपर्ने काम भएको छ । यस चौतर्फी विरोधको सामना गरिरहेका अर्थमन्त्रीले अहिले आफूखुसी करको दर हेरफेर गरेको अर्को काण्ड बाहिरिएको छ । मन्त्रीले स्वेच्छाचारी ढङ्गले गरेको त्यो काम नियम विपरीत हो र दण्डनीय पनि छ भन्ने कुरा अर्थशास्त्री पूर्व अर्थमन्त्री र विज्ञहरूले एक स्वरमा भनिरहेका छन् । अहिलेको सरकारले रुल अफ ल लाई छाडेर रुल बाईँ ल को नीति अपनाएको भनेर तीव्र विरोध भइरहेको छ । त्यसको सामना गर्न नसकेर सांसदबाट भाग्ने गरेका अर्थमन्त्रीले मनपरी ढङ्गले करको दर हेराहेरी गरेको कुरा बाहिर आएको छ । र,त्यसको चर्को स्वरमा विरोध भइरहेको छ । बिद्युत्मा नयाँ उपकरण किन्न भ्याट लगाइएको भन्ने प्रधानमन्त्रीलाई नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुखले मुखभरिको जवाफ दिइसकेका छन् ।

अहिलेकै अवस्थामा विद्युत् लोड थाम्न सक्ने उपकरण पर्याप्त रहेको कुरा घिसिङले स्पष्ट भाषामा जानकारी दिइसकेका छन् । कर उठाएर मस्ती गर्ने प्रवृत्ति देखाउँदै आएकाहरूलाई बहानाबाजीको खाँचो हुँदैन । आर्थिक अपराधका काण्ड काण्डमा मुछिएकाहरूको बाहुल्य रहेका रास्वपा सांसद र त्यहीभित्रबाट मन्त्री बनेकाहरूको चरित्रले देशको बरबादी निम्त्याउने खतराप्रति बेलैमा नेपाली जनतालाई सजग गराउन नसक्नु पुराना दलको कमजोरी हो । तर, आफूलाई बुद्धिजीवी भन्ने र हरदम अवसरको ताकमा रहनेहरूको दोहोरो चरित्रले देशलाई डरलाग्दो सङ्कटमा होम्ने खतरा देखिएको छ । सिद्धान्त,नीति र कार्यक्रमलाई महत्त्वहीन ठान्ने जमातले सत्तामा पुगेपछि जे गरे पनि हुन्छ भन्ने ठान्नु अस्वाभाविक होइन तर त्यो खतराका बारेमा समय छँदा सजग गराउनेलाई नाना थरी गाली गर्नेहरूको चेत अझै खुल्न नसकेकोमा भने अचम्म नै मान्नुपर्छ । जनता र राष्ट्रको विरुद्ध जघन्य अपराध हुँदा पनि केही नभए जस्तो गर्नेहरूले चाडै यसको परिणाम बेहोर्न बाध्य हुनुपर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *